काठमाडौं : मुक्तिनाथ विकास बैंकले पौष २९ गते पोखरामा अठारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आव २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै, प्रति सेयर १०० सयका दरले एक अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।
यसै सभाबाट आव २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ । साथै, साधारण सभाको अवसरमा बैंक स्थापना गर्न पहल गरेका शुरुका ३० जना संस्थापक सेयरधनीहरु, बैंकको उन्नयनमा अतुलनीय योगदान दिने अन्य संस्थापक सेयरधनीहरु तथा संचालक सदस्यहरुलाई सम्मान गरिएको थियो ।
विशेष प्रस्तावको रुपमा रहेको काठमाण्डौं–२८, कमलादीमा अवस्थित केन्द्रीय कार्यालय, बैंकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन, लाजिम्पाट काठमाण्डौंमा स्थानान्तरण गर्ने लगायतका सबै प्रस्तावहरु सर्वसम्मत रुपले पारित भएका छन् ।
साधारण सभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका थिए । उक्त सभामा बैंकका सञ्चालक समितिका सदस्य भरत प्रसाद लम्सालले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट आएका जिज्ञासाहरु बारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले थप प्रष्ट पारेका थिए ।
Advertisment