काठमाडौं : बैंकहरुको निक्षेप थ्रुपने क्रम बढेपछि बैंकिङ प्रणालीमा निक्षेप करिब ६७ खर्ब पुगेको छ । बैंक, वित्तीय संस्थाको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि चालू आवमा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ ।
सुस्त कर्जा प्रवाह र सुधारिएको रेमिट्यान्स आप्रवाहका कारण निक्षेप थपिने क्रम बढ्दा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६६ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ ।
कुल कर्जा प्रवाह ५३ खर्ब ८७ अर्ब रुपैयाँ छ । पुस २७ गते मात्र बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह एक अर्ब रुपैयाँले बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २६ गतेसम्म कुल निक्षेप ६६ खर्ब ९१ अर्ब रुपैयाँ रहेकोमा दुई अर्ब रुपैयाँ निक्षेप थपिँदा पुस २७ गतेसम्म ६६ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको हो ।
उक्त दिनसम्म कुल कर्जा प्रवाह ५३ खर्ब ८७ अर्ब रुपैयाँ छ । पुस २७ गते मात्र बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह एक अर्ब रुपैयाँले बढेको हो ।
यस अवधिमा वाणिज्य बैंकहरुमा मात्रै ५९ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप छ भने विकास बैंक र फाइनान्स कम्पनीमा सात खर्ब ३९अर्ब रहेको छ । यस्तै वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४७ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीको कर्जा लगानी रकम छ खर्ब १३ अर्ब रुपैयाँ छ ।
राष्ट्र बैंकका अनुसार उक्त दिनसम्म बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.२० प्रतिशत कायम भएको छ । पुस २६ गतेसम्म सीडी रेसियो ७९.२२ प्रतिशत थियो । यस्तै पुस २७ गतेको औसत अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।
यो राष्ट्र बैंकले तोकेको ब्याजदर करिडोरको सीमा भित्र रहेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा बैंकदर ६.५ प्रतिशतमा र निक्षेप संकलन बोलकबोल दर ३ प्रतिशत कायम गरेको छ ।
मौद्रिक नीतिको समीक्षापछि ब्याजदर घट्ने र यसले कर्जा प्रवाह वृद्धि भई लक्ष्य भेट्टाउन समेत सहज हुने राष्ट्र बैंकले बताएको थियो । तर अपेक्षित रुपमा कर्जा प्रवाह नहुँदा बैंकिङ्ग प्रणालीमा थपिएको निक्षेपका कारण राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गरेर यस अवधिमा १८ खर्ब तीन अर्ब ८५ करोड रुपैयाँ प्रणालीबाट प्रशोचन गरेको थियो ।
साथै पुस २८ गते समेत बैंकिङ्ग प्रणालीबाट थप ४० अर्ब खिचिसकेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पुसमसान्तसम्म छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।
Advertisment