काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो। गत आवको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
पुस मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेको कारण नाफा घटेको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेर ११ करोड द्द१ लाख रुपैयाँमा झरेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी ७४.९१ प्रतिशत घटेको छ ।
त्यस्तै यस अवधिमा आइपुग्दा कम्पनीको कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.६८ प्रतिशत घटेर ६ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष संस्थाको सञ्चालन आम्दानी ९ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ४१ लाख रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ पुगेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा संस्थाको इपीएस ६ रुपैयाँ ५८ पैसा घटेर ९ रुपैयाँ ३६ पैसामा झरेको छ। त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ७१.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ।
पुस मसान्तसम्म आइपुग्दा ९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment