Below Menu

निर्जीवन बीमा कम्पनीहरुको व्यापार पौने २१ अर्ब, तीन कम्पनी पुगेनन् अर्ब क्लबमा  

निर्जीवन बीमा कम्पनीहरुको व्यापार पौने २१ अर्ब, तीन कम्पनी पुगेनन् अर्ब क्लबमा  

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले एक महिनामैं साढे तीन अर्ब रुपैयाँले व्यवसाय बढाएका छन् । चालु आर्थिक वर्षको मंसिर महिनाको तुलनामा पुसमा कम्पनीहरुको व्यापार ३ अर्ब ७० करोड ५७ लाख रुपैयाँले बढेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुस मसान्तसम्म कम्पनीहरुले १३ लाख ८९ हजार ३१९ बीमालेख जारी गरी २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा एक अर्ब ४८ करोड ७५ लाख रुपैयाँले बढी हो । गत आवको पुस मसान्तसम्म कम्पनीहरुले १४ लाख २१ हजार ७६ बीमालेख जारी गरी १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए । 

प्राधिकरणका अनुसार पुसमा मात्रै कम्पनीहरुले २ लाख ५९ हजार ८१५ बीमालेख बिक्री गरी तीन अर्ब ७० करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणका अनुसार पुस मसान्तसम्म ११ कम्पनीहरुले एक अर्बमाथिको व्यापार गरेका छन् । सर्वाधिक बीमा व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले एक लाख ४९ हजार ३९३ बीमालेख जारी गरी दुई अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक लाख ४० हजार १४ बीमालेख बिक्री गरी दुई अर्ब ५५ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको भने सिद्धार्थ प्रिमियरले एक लाख ५१ हजार ७५७ बीमालेख बिक्री गरी दुई अर्ब १३ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी पुस मसान्तसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब ७१ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले एक अर्ब ६६ करोड ५१ लाख र आईजीआई प्रुडेसिन्यलले एक अर्ब ४७३ करोड ७१ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

नेपाल इन्स्योरेन्सले यस अवधिमा एक अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्ैत दि ओरियन्टल इन्स्योरेन्सले एक अर्ब ३४ करोडको व्यापार गरेको छ भने एनएलजीले एक अर्ब ४० करोड ७० लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।

प्राधिकरणका अनुसार युनाइडेड अजोड इन्स्योरेन्सले एक अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ भने सानिमा जिआईसीले एक अर्ब १९ करोड ३१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

तीन कम्पनी पुगेनन् अर्ब क्लबमा

प्राधिकरणका अनुसार चालु आवको छ महिनामा अधिकांश कम्पनीले अबौंको व्यवसाय गरेका छन् भने तीन कम्पनीको व्यवसिाय भने करोडमा खुम्चिएको छ ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले ७१ करोड ३१ लाख रुपैयाँ बराबरको बीमाशूल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । त्यस्तै नेशनल इन्स्योरेन्स ६२ करोड १९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

लघु बीमाको व्यापार ४२ करोड माथि

प्राधिकरणका अनुसार यस अवधिमा सञ्चालनमा रहेका चार लघुबीमा कम्पनीले ४२ करोडको व्यवसाय गरेका छन् । कम्पनीहरुले एक लाख ६८ हजार ४७१ हजार बीमालेख जारी गरी ४२ करोड २९ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क उठाएका हुन् । 

चालु आवको यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी १२ करोड ४१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १० करोड ३७ लाख, स्टार माइक्रोले ९ करोड ८२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९ करोड ६८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
 

थप समाचार