काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको छ महिनामा ५४ हजार बढी बीमितले ७ अर्ब बढीको बीमा पोलिसी सरेन्डर गरेका छन् ।
यस अवधिमा १४ जीवन बीमा कम्पनीका ५४ हजार ४१४ बीमितले ७ अर्ब ४६ करोड ६६ लाख ७२ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।
उक्त रकम गत आवको सोही अवधिको तुलनामा १४.०१ प्रतिशत अर्थात ९१ करोड ७८ लाख रुपैयाँले बढी हो । गत वर्षको पुससम्म ५३ हजार ११३ बीमितले ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका थिए ।
प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका बीमितले पोलिसी सरेन्डर गरेका छन् । पुससम्म उक्त कम्पनीका १३ हजार ९६८ बीमितले दुई अर्ब ३८ करोड ५९ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।
त्यस्तै, नेपाल लाइफका १२ हजार २४१ बीमितले दुई अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् भने राष्ट्रिय जीवन बीमा कम्पनीका ७ हजार २०७ बीमितले ६७ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४६ करोड ५१ लाख रुपैयाँ बराबरको तीन हजार १०४ वटा, मेट लाइफको १९ करोड ६६ लाख ६७ हजार रुपैयाँको एक हजार ७९४ वटा, एशियन लाइफको ४६ करोड ८१ लाख २६ हजार रुपैयाँ बराबरको चार हजार ४०५ बीमालेख र आईएमई लाइफ इन्स्योरेन्सको ९ करोड ८६ लाख २४ हजार रुपैयाँ बराबरको ९०८ बीमालेख सरेन्डर भएका छन् ।
प्राधिकरणका अनुसार पुस मसान्तम्म सन नेपाल लाइफको सबैभन्दा कम तीन करोड ५२ लाख रुपैयाँ बराबरको ३६१ वटा बीमालेख सरेन्डर भएका छन् भने यस अवधिमा रिलायबल नेपाल लाइफका ८६३ बीमितले पाँच करोड ५६ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।
त्यस्तै, सिटिजन लाइफ नेपालका एक हजार ३८८ बीमितले ११ करोड ५८ हजार ५१ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् भने सूर्यज्योति लाइफको ३८ करोड ९४ लाख ५६ हजार रुपैयाँ बराबरको दुई हजार ९४० बीमालेख सरेन्डर भएका छन् ।
त्यसैगरी सानिमा रिलायन्स लाइफको १३ करोड १२ लाख रुपैयाँको ९४२ वटा, हिमालयन लाइफको २८ करोड ३० लाख रुपैयाँ बराबरको तीन हजार ३३ वटा र प्रभु महालक्ष्मी लाइफको नौं करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको ७०३ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Advertisment