काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
जनजीवन प्रभावित
केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ ।
बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरूवा सहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका कारण इनरूवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय मनोज यादवले बताए।
दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए।
चिसोका कारणले दैनिकी मजदुरी गरेर गुजारा गर्दै आएकालाई समस्या भएको छ । चिसो, बाक्लो, हुस्सु र सित खस्ने गरेका कारणले घरबाट निस्कनेलाई समस्या हुँदै आएको छ भने दैनिक मजदुरी गरेर घर परिवार चलाउँदै आएकालाई समस्या भएको कोशी–७ का झगडु सदाले बताए।
Advertisment