काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा बीमा कम्पनीहरुको व्यवसाय एक खर्ब नाघेको छ । पुस मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका हुन् ।
प्राधिकरणका अनुसार उक्त बीमाशुल्क रकम गत आवको सोही अवधिको तुलनामा ९.४२ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरुले ९३ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका थिए ।
गत वर्षको पुस मसान्तसम्म ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय चालु आवको सोही अवधिमा आइपुग्दा ९.६० प्रतिशतले बढेर २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँमा पुगेको छ ।
यता जीवन बीमा कम्पनीहरुको व्यवसायमा पनि सामान्य वृद्धि देखिएको छ । पुस मसान्तसम्म ६० अर्ब ४० करोड ३८ लाख रुपैयाँ बराबरको कुल जीवन बीमाशुल्क संकलन भएको छ ।
गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ९.३७ प्रतिशतले बढेको हो । गत वर्षको पुस मसान्तसम्म ६३ अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको कुल जीवन बीमाशुल्क संकलन भएको थियो ।
चालु आवको पुस मसान्तसम्ममा कुल जीवन बीमालेख संख्या २.०८ प्रतिशतले बढेर एक करोड ४० लाख ४१ हजार ३५४ पुगेको छ भने निर्जीवन बीमालेख संख्या ८.१ प्रतिशतले बढेर १५ लाख ५७ हजार ७९० पुगेको छ ।
त्यस्तै गत आवको सोही अवधिमा १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ रहेको प्रथम जीवन बीमाुशल्क २८.७३ प्रतिशतले बढेर १७ अर्ब ७८ करोड ६१ लाखमा पुगेको भएको छ । नविकरण जीवन बीमाशुल्कमा भने ४.९४ प्रतिशतले वृद्धि भएको पाइएको छ ।
वैदेशिक रोजगार बीमालेख ९ प्रतिशतले बढ्यो
यस अवधिमा वैदेशिक रोजगार बीमालेख संख्यामा भने वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्म १९ लाख १४ हजार ९५० वैदेशिक रोजगार बीमालेख संख्या रहेको यस अवधिमा २३.१९ प्रतिशतले बढेर २३ लाख ५८ हजार ९८२ मा पुगेको छ ।
सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य बीमाको व्यवस्था गरेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै बीमालेखमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।
चालु आवको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ८१ अर्ब १७ करोड ६८ लाख ४३ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । पुसमा मात्र भने बैदेशिक रोजगार बीमाबाट बीमा कम्पनीहरुले एक अर्ब ६६ करोड ३९ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
पहुँच विस्तारमा देखिएन सुधार
पछिल्लो समय बजारमा बीमा व्यवसायको वृद्धिर देखिएपनि पहुँच विस्तारमा भने संकुचन देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको देखिएको हो ।
पुस मसान्तसम्मको तथ्यांक हेर्दा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको छ ।
गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४३.६२ प्रतिशतमा पुगेको थियो । तर, चालु आवको पुस मसान्तसम्मको तथ्यांक हेर्दा यो संख्या ४३.०५ प्रतिशतमा सिमित भएको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेकको जीवन बीमालेख संख्या ०.६४ प्रतिशतले घटेर ५४ लाख ६१ हजार २२८ पुगेको छ । त्यस्तै, म्यादि र लघुम्यादि जीवन बीमालेख संख्या १.९४ प्रतिशतले घटेर ६२ लाख २१ हजार १४३ रहेको छ ।
त्यस्तै, यस अवधिमा म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १६.८१ प्रतिशत रहेको छ भने म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख सहित बीमाको दायरामा आएको जनसंख्या ३५.५९ प्रतिशत रहेको छ ।
बीमा कम्पनीहरुले व्यवसाय तथा पहुँच विस्तारका लागि शाखा संजालसँगै कर्मचारी बढाउँदै लगे पनि बीमाको पहुँच विस्तार भने निरन्तर खुम्चिदै गएको हो ।
त्यसो त बीमाको दायरा विस्तारका लागि प्राधिकरणले विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । स्थानीय तहहरुको समन्वयमा बीमा क्षेत्रका बारेमा अन्तक्र्रिया कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । तर, बीमा दायरा विस्तारमा भने उल्लेख्य वृद्धि हुन सकेको छैन ।
बजारमा आर्थिक गतिविधि चलायमान नहुँदा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढ्दै जाँदा बीमाको पहुँच विस्तारमा प्रत्यक्ष असर परेको छ । एकातिर बीमा गर्ने व्यक्तिहरुको संख्खामा संकुचन आएको छ ।
थपिए कार्यालय र कर्मचारी
प्राधिकरणका अनुसार यस अवधिमा बीमा कम्पनीहरुको कार्यालय र कर्मचारीको संख्या पनि बढ्दै गएको छ । यस अवधिमा जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या ०.८८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या ११.३५ प्रतिशतले बढेको छ ।
गत आवको पुस मसान्तसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ८६८ रहेको थियो भने चालु आवको यस अवधिमा आइपुग्दा यस्तो संख्या ४.६७ प्रतिशतले बढेर ३ हजार २ पुगेको छ ।
गत वर्षको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बीमा कम्पनीहरुका कर्मचारी ३.५० प्रतिशतले बढेका छन् । गत आवको सोही अवधिमा ११ हजार ४९८ कर्मचारी रहेका बीमा कम्पनीहरुमा यस अवधिमा आइपुग्दा बढेर ११ हजार ९०१ जना रहेका छन् ।
पुस मसान्तसम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको कर्मचारी १.८३ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको कर्मचारी ५.१९ प्रतिशतले बढेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Advertisment