Below Menu
Below Menu

ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह

ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह

काठमाडौं : ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ “नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ । 

त्यस अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताए । 

राजदूत भण्डारीले बङ्गलादेश व्यापारिक नेताहरूलाई नेपालको व्यापार समुदायसँग समन्वयात्मक साझेदारी निर्माण गर्न र नेपालमा उपलब्ध लगानीका अवसरहरूको उपयोग गर्न पनि आग्रह गर्नुभएको उक्त राजदूतावासले जनाएको छ ।  

कार्यशालाका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको लगानी वातावरण, अवसर र प्राथमिकताका क्षेत्रबारेमा विस्तृत जानकारी दिँदै ऊर्जा, पर्यटन, कृषि, सूचना तथा सञ्चार प्रविधि, शहरी पूर्वाधार, स्वास्थ्य, खानी तथा खनिजलगायत प्राथमिकताका क्षेत्रमा लगानी गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह गरे । 

दूतावासका अनुसार बङ्गलादेश लगानी विकास प्राधिकरणका कार्यकारी सदस्य डा. खान्डोकर अजिजुल इस्लामले बङ्गलादेशका लगानी प्राथमिकता बारे अवगत गराउँदै पारस्परिक लाभका क्षेत्रमा लगानी सम्बन्धलाई सुदृढ पार्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेशनल बैंक लिमिटेडका अध्यक्ष तथा बङ्गलादेश उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अब्दुल अवल मिन्टुले नेपालसँगको व्यापारबारे आफ्ना दृष्टिकोण साझा गर्दै दुई देशीय आर्थिक सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। 

–––

Advertisment

थप समाचार