Below Menu
Below Menu

छ प्रतिशतमा झर्यो बैंकहरुको औषत आधारदर, कर्जा प्रवाहमा देखिएन सुधार 

छ प्रतिशतमा  झर्यो बैंकहरुको औषत आधारदर, कर्जा प्रवाहमा देखिएन सुधार 

काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) निरन्तर घट्दो क्रममा रहेको छ । गत पुस महिनाको तुलनामा बैंकहरुको बेसरेट औषतमा ०.२१ प्रतिशतले घटेको छ ।

गत पुसमा ७.०२ प्रतिशत रहेको बैंकहरुको बेसरेट घटेर ६.८१ प्रतिशतमा झरेको छ । पछिल्लो केही महिनायता बैंकहरुको ब्याजदर निरन्तर घट्दो क्रममा छ । बैंकहरुको घट्दो बेस रेटकै कारण ऋणीलाई समेत राहत मिलेको छ । बेस रेट ब्याजदरसँग सम्वन्धित हुने हूँदा बेस रेट बढेको खण्डमा कर्जाको ब्याजदर पनि बढ्छ भने घटेको बेलामा कर्जाको ब्याजदर पनि घट्ने गर्छ ।

ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार बेस रेट (आधार दर) हो । बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्युनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदर हो ।

बैंकहरुको बेस रेट अनुसार नै ऋणको ब्याज महँगो अथवा सस्तो हुने संकेत गर्छ । यस्तो रेट कम भएका बैंकहरुले कम ब्याजदरमै कर्जा उपलब्ध गराउन सक्नेछन । ऋणीले बेस रेट हेरेरै कर्जा लिनका लागि बैंक छनोट गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरूले आधार दरमा प्रिमियम थप गरेर कर्जा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । हाल बैंकहरुले कर्जाको प्रकृतिअनुसार बेस रेटमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिने गरेका छन् । त्यसमा पनि बैंक र कर्जाको प्रकृति अनुसार फरक पनि हुने गर्दछ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ । जसका कारण अधिकांश बैंकहरूको आधारदर एकल अंकमा झरिसकेको छ । ब्याजदर निरन्तर रुपमा घटेपनि कर्जाको माग बढ्न सकेको छैन । 

कुन बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण 

बैंकहरुको रिर्पोट अनुसार यसअवधिमा सबैभन्दा कम आधारदर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकको आधारदर जम्मा ५.१९ प्रतिशत रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ । 

यस्तै, एभरेष्ट बैंकको बेस रेट पनि ५.६६ प्रतिशत, नबिलको ६.३१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ६.५८ प्रतिशत, ग्लोबल आइएमईको ६.९५, सानिमाको ६.९०, सिद्धार्थको ७.३१, प्रभुको ७.२६, कृषि विकासको ६.७८ र एनएमबिको ६.९२ प्रतिशत रहेको छ ।
 

Advertisment