काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनामा एक सय ४० खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.१४८६ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१२५१४ अर्ब १५ करोड गरी कुल रु.१४००० अर्ब ८० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । भने रु.८० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद रु.१९९ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ५२ करोड खुद खरिद गरी रु.३४० अर्ब ६ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ७५ करोड खुद खरिद गरी रु.३६६ अर्ब १४ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ९० करोड बिक्री गरी रु.२५६ अर्ब ५३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ८२ करोड बिक्री गरी रु.२४२ अर्ब ८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।
Advertisment