काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानी ५४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार पुस मसान्तसम्म वित्तीय संस्थाहरुले ५४ खर्ब ३५ अर्ब ४ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् ।
उक्त लगानी गत वर्षको सोही अवधिको तुलनामा २ खर्ब ६७ अर्ब ८७ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५१ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको ऋण लगानी ४८ खर्ब १६ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । त्यस्तै विकास बैंकहरुले ५ खर्ब १५ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेका छन् भने फाइनान्स कम्पनीहरुले एक अर्ब २ करोड ९७ लाख रुपैयाँ ऋण लगानी गरेका छन् ।
कुन क्षेत्रमा कति लगानी ?
राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाको लगानी उपभोग्य कर्जामा देखिएको छ । पुस मसान्तसम्म घर खर्च चलाउन १० खर्ब ७२ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी भएको छ ।
त्यस्तै होलसेल तथा रिटेलमा १० खर्ब ४७ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । त्यस्तै कृषि, वन पैदावर खाद्य तथा पेय पदार्थको क्षेत्रमा बैंकहरुले ९ खर्ब २९ अर्ब २१ करोड रुपैयाँ लगानी गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा २.८४ प्रतिशतले बढी हो ।
राष्ट्र बैंकका अनुसार कन्स्ट्रक्सन (निर्माण क्षेत्र) मा २ खर्ब २३ अर्ब ९१ करोड, जलविद्युत, ग्यास र पानीमा ४ खर्ब ६ अर्ब २९ करोड, धातुजन्य उत्पादन तथा मेसिनरीको क्षेत्रमा ७२ अर्ब ४० करोड, यातायात, सञ्चार तथा सार्वजनिक सरोकारका क्षेत्रमा ७८ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी भएको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले फाइनान्स, बीमा तथा घरजग्गाको क्षेत्रमा ४ खर्ब २७ अर्ब ८४ करोड रुपैयाँ लगानी गरेका छन् भने पर्यटन सेवाको क्षेत्रमा २ खर्ब ४४ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेका छन् । पर्यटन क्षेत्रको कर्जा अघिल्लो महिनाको तुलनामा १.१९ प्रतिशतले घटेको छ ।
शेयर धितो कर्जा ५ प्रतिशतले बढ्याे
राष्ट्र बैंकका अनुसार यस अवधिमा मार्जिन प्रकृतिको लोन ५.४० प्रतिशतले बढेको छ । गत मंसिर मसान्तसम्म बैंकहरुले एक खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए भने पुस मसान्तसम्म आइपुग्दा उक्त कर्जा बढेर एक खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म वाणिज्य बैंकहरुले ९१ खर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर मार्जिन कर्जा प्रवाह गरेका छन् । त्यस्तै विकास बैंकहरुले १८ अर्ब १८ करोड र फाइनान्स कम्पनीहरुले ४ अर्ब ५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको लचच नीतिले शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । लगानीकर्ताको मनोबल बढेसँगै शेयर धितो कर्जामा पनि सुधार देखिएको हो ।
हायर पर्चेच कर्जा १२८ अर्ब
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट १२८ अर्ब रुपैयाँ बराबरको हायर पर्चेच कर्जा (गाडी किन्न) प्रवाह भएको छ । जुन गत वर्षको तुलनामा भने ४२० करोड रुपैयाँले बढी हो । गत वर्ष गाडी किन्न बैंकहरुले १२४ अर्ब रुपैयाँ कर्जा दिएका थिए ।
यस अवधिमा वाणिज्य बैंकहरुको हायर पर्चेच कर्जा एक खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै गाडी किन्न्न विकास बैंकहरुले ३७ अर्ब ९ करोड रुपैयाँ ऋण लगानी गरेका छन् भने फाइनान्स कम्पनीहरुले ३ अर्ब २६ करोड रुपैयाँ लगनाी गरेका छन् ।
रियल स्टेटमा साढे २ खर्ब लगानी
पुस मसान्तसम्म रियल स्टेटको क्षेत्रमा वित्तीय संस्थाको लगानी साढे २ खर्ब रुपैयाँ रहेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले घरजग्गा कारोबारका लागि २ खर्ब ७३ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् । उक्त लगानी अघिल्लो महिनाको तुलनामा १.३३ प्रतिशतले कम हो ।
यस अवधिमा रियल स्टेटमा वाणिज्य बैंकहरुले २ खर्ब २९ अर्ब ९० करोड रुपैयाँ, विकास बैंकहरुले ३ अर्ब २४ करोड र फाइनान्स कम्पनीहरुले ११ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
Advertisment