काठमाडौं : बैंकहरुको घट्दो ब्याजदर र बाढी पहिरो लगायतका विपद्का घटनाले बीमा क्षेत्रमा प्रत्यक्ष असर परेको छ । फलस्वरुप बीमा कम्पनीहरुको नाफा घट्न पुगेको हो ।
चालु आर्थिक वर्षको छ महिनामा बीमा कम्पनीहरुको नाफा साढे ४ अर्ब रुपैयाँमा सिमित भएको छ । पुस मसान्तसम्म जिवन र निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ७४ करोड ६६ लाख ९६ हजार रुपैयाँ नाफा कमाएका हुन् ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २२.६३ प्रतिशत अर्थात एक अर्ब ३८ करोड ८४ लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा कम्पनीहरुको नाफा ६ अर्ब १३ करोड ५१ लाख ३ हजार रुपैयाँ रहेको थियो ।
गत असोज १० र १२ गते आएको बाढी पहिरोले गर्दा ठूलो मात्रामा क्षति भएको थियो । बाढीका कारण निर्जीवन बीमा कम्पनीहरुमा साढे १२ करोड रुपैयाँ बराबरको दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार बाढीका कारण निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब ७८ करोड २४ लाख रुपैयाँ बराबरको तीन हजार ७२० वटा दावी परेको थियो । जसमा २ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भएको छ भने नौ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको एक हजार ५३० वटा दावीको भुक्तानी हुन बाँकी छ ।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध वाग्ले बाढी पहिरो लगायतका विपद्ले दाबी भुक्तानी बढ्दा कम्पनीहरुको नाफा खुम्चिएको बताउँछन् । ‘गत असोजमा आएको बाढीका कारण धेरै क्षति भएको छ । बाढीको कारण साढे १२ करोडको दाबी परेको छ । उक्त दाबी भुक्तानी भर्खरै भएका कारण पनि नाफा खुम्चिएको हो ।’
यसका साथै उनले बैंकहरुको ब्याजदर घटेको कारण पनि नाफामा असर परेको बताए । ‘कम्पनीहरुले लगानीको ८० प्रतिशत बैंकहरुको मुद्दती निक्षेपमा छ । बैंकहरुको एफडी (फिक्स डिपोजिट) को ब्याज ५ प्रतिशत भन्दा तल आएको छ । यसले लगानीको आम्दानी घटेको छ । जसले गर्दा नाफा प्रभावित भएको हो ।’
जीवन बीमा कम्पनीको नाफा साढे तीन अर्ब
प्रकाशित वित्तीय विवरण अनुसार पुस मसान्तसम्म आइपुग्दा जीवन बीमा कम्पनीको नाफा ३ अर्ब ४८ करोड ८२ लाख ५१ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १४.८५ प्रतिशतले बढी हो ।
यस अवधिमा १२ कम्पनीहरुको नाफा बढेको छ भने दुई कम्पनीको नाफा घटेको छ । नाफा घट्नेमा सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
पुस मसान्तसम्म आइपुग्दा राष्ट्रिय बीमा कम्पनीको नाफा ४३.५५ प्रतिशतले घटेको छ । गत वर्ष एक करोड ४२ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको यस अवधिमा आइपुग्दा ८० लाख रुपैयाँ नाफा कमाएको हो ।
त्यस्तै गत वर्षको सोही अवधिमा सन नेपाल लाइफको नाफा ३२ करोड ८४ लाख रुपैयाँ रहेको थियो । उक्त नाफा चालु आवको सोही अवधिमा आइपुग्दा १४.०५ प्रतिशतले घटेर २८ करोड २२ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै यस अवधिमा सबैभन्दा बढी नाफा बढाउनेमा सिटिजजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा ८६.७८ प्रतिशतले बढेर २३ करोड ९ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा एशियन लाइफको नाफा ५६.५५ प्रतिशत, रिलायबल नेपाल लाइफको ५१.७० प्रतिशत, मेट लाइफको १४.५१ प्रतिशत र आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४.१२ प्रतिशतले बढेको छ ।

निर्जीवन बीमा कम्पनीको नाफामा ५९ प्रतिशत घट्यो
यता निर्जीवन बीमा कम्पनीको नाफा भने ५९.३८ प्रतिशतले घटेको छ । गत वर्षको पुस मसान्तसम्म कम्पनीहरुको नाफा ३ अर्ब ९ करोड ७८ लाख रुपैयाँ रहेको थियो भने उक्त नाफा चालु आवको सोही अवधिमा आइपुग्दा घटेर एक अर्ब २५ करोड ८४ लाख ४५ हजार रुपैयाँमा झरेको छ ।
यस अवधिमा आएपुग्दा ११ कम्पनीको नाफा घटेको छ भने नाफा बढाउनेमा तीन कम्पनी रहेका छन् । पुस मसान्तसम्म आइपुग्दा प्रभु इन्स्योरेन्सको नाफा १०.५३ प्रतिशत, शिखर इन्स्योरेन्सको २.४८ प्रतिशत र सानिमा जिआईसीको नाफा १५.२५ प्रतिशतले बढेको छ ।
यस अवधिमा सबैभन्दा बढी नाफा घट्नेमा सरकारी बीमा कम्पनी नेपाल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको नाफा ८२.७२ प्रतिशतले घटेको हो । त्यस्तै सगरमाथा लुम्बिनी (सलिको) को नाफा ६७.२१ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४१ प्रतिशतले घटेको छ ।
त्यसैगरी गत वर्षको सोही अवधिमा २५ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको ओरियन्टल इन्स्योरेन्स १९ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको छ । प्रकाशित विवरण अनुसार गत वर्ष एक करोड ७ लाख घाटा व्यहोरेको नेशनल इन्स्योरेन्सको नोक्सानी बढेर ३६ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

Advertisment