काठमाडौं : पछिल्लो समय होटलको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको छ । पर्यटक आवागन बढेसँगै होटल तथा रेष्टुरेन्टको आम्दानीमा सुधार आएको छ ।
होटलहरुको व्यवसाय बढेसँगै नाफामा पनि बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म होटल तथा पर्यटन समुहका छ कम्पनीहरुको नाफा ४८ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा होटलहरुको नाफा ७.५१ प्रतिशतले बढेको हो । गत वर्षको पुस मसान्तसम्म होटलहरुको नाफा ४४ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।
हाल बजारमा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् । सूचीकृतमध्ये सिटि होटल नोक्सानीमा रहेको छन् । यस अवधिमा आइपुग्दा कालिञ्चोक दर्शन र ओरियन्टल होटलको नाफा पनि घटेको भने अन्य सबै कम्पनीहरु नाफामा रहेका छन् ।
पछिल्लो समय पर्यटन आवागमनमा वृद्धि भएसँगै होटल तथा पर्यटन व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२४ को जनवरी देखिनै पर्यटन आवागन उच्च छ ।
नेपालमा विदेशी पर्यटकको संख्या बढ्दा यसको प्रत्यक्ष प्रभाव होटल व्यवसायमा देखिएको छ । विदेशी पर्यटकहरुको बढ्दो आगमनले होटलहरुको नाफामा सुधार देखिएको हो ।
सञ्चालित कम्पनीहरुमा चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मुख्य व्यापार केबुलकार सञ्चालन बापत सेवा शुल्क हो भने सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल र सिटीको मुख्य व्यापारमा होटल व्यवसाय रहेको छ ।
बाह्य पर्यटक संख्या बढ्दा आम्दानीमा सकारात्मक टेवा पुग्न गई नाफामा सुधार भएको होटलहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सोल्टी होटल
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सोल्टी होटलले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १४.६८ प्रतिशतले बढी हो । गत वर्ष होटलले २६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।
पुस मसान्तसम्म होटलको कुल आम्दानी एक अर्ब ५ करोड रुपैयाँबाट बढेर एक अर्ब २१ करोड रुपैयाँ पुगेको छ । होटलको प्रतिशेयर आम्दानी ३.२५ रुपैयाँमा झरेको छ ।
ओरियन्टल होटल
दि ओरियन्टल होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्म २ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४६ प्रतिशतले कम हो । गत वर्ष होटलले ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा होटलको आक्दानी घट्दा नाफा घटेको हो । पुस मसान्तसम्म होटलको कुल आम्दानी ५६ करोड एक लाख रुपैयाँबाट घटेर ४९ करोड १७ लाख रुपैयाँमा झरेको छ । होटलको प्रतिशेयर आम्दानी २ दशलमव ५६ रुपैयाँ रहेको छ ।
तारागाउँ रिजेन्सी होटल
तारागाउँ रिजेन्सी होटल लिमिटेडले यस अवधिमा १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २.८४ प्रतिशतले बढी हो । गत वर्ष होटलले १८ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।
पुस मसान्तसम्म होटलको सञ्चालन आम्दानी ८.८२ प्रतिशतले बढेको छ भने कुल आम्दानी ८.२९ प्रतिशतले बढेको छ । होटलको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४ पैसा रहेको छ ।
सिटी होटल्स
सिटी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्म १० करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा ११ करोड ७९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
गत आवको सोही अवधिको तुलनामा भने होटलको नोक्सानी घटेको हो । यस अवधिमा होटलको वित्तीय खर्च घटेका कारण नोक्सानी घटेको हो ।
पुस मसान्तसम्म होटलको सञ्चालन आम्दानी २३ करोड ५७ लाख रुपैयाँ रहेको छ । होटलको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २७ पैसा ऋणात्मक छ ।
कालिन्चोक दर्शन
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शनले ४७ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको साेही अवधिकाे तुलनामा ३०.३६ प्रतिशतले कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले ६७ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
पुस मसान्तसम्म होटलको आम्दानी २ करोड ९० लाख रुपैयाँ रहेको छ भने होटलको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५८ पैसा रहेको छ ।
चन्द्रागिरी हिल्स
चन्द्रागिरी हिल्स लिमिटेडले छ महिनामा ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७८ प्रतिशतले बढि हो । गत आवमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी ७.५६ प्रतिशतले घटेको छ भने कुल खर्च ८.५५ प्रतिशतले घटेको छ । होटलको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६६ पैसा रहेको छ ।
Advertisment