Below Menu
Below Menu

ब्याजदर घट्दा सुधारियो हाइड्रोपावरको ब्यालेन्ससिट: नाफा साढे तीन अर्ब, पौने २२ अर्बको विद्युत बिक्री 

ब्याजदर घट्दा सुधारियो हाइड्रोपावरको ब्यालेन्ससिट: नाफा साढे तीन अर्ब, पौने २२ अर्बको विद्युत बिक्री 

काठमाडौं : पछिल्लो समय जलविद्युत कम्पनीहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।

उक्त विवरण अनुसार यस अवधिमा कम्पनीहरुले ३ अर्ब ५९ करोड ९४ लाख ४१ हजार रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७९.९९ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म कम्पनीहरुले एक अर्ब ९९ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

समिक्षा अवधिमा अधिकांश कम्पनीको विद्युत बिक्री आम्दानी बढेका कारण नाफामा सुधार देखिएको हो । यसका साथै कम्पनीहरुको वित्तीय खर्च घटेका कारण पनि कतिपय कम्पनीहरुको नाफामा सुधार आएको हो ।

गत वर्ष नोक्सानीमा रहेका अधिकांश कम्पनीहरुको वित्तीय विवरण सुधारिएको छ । कम्पनीहरुले विद्युत बिक्री आम्दानी बढाएर नोक्सानी घटाएका हुन् ।

प्रकाशित विवरण अनुसार यस अवधिमा २७ कम्पनीको नाफा बढेको छ । अन्य ४७ कम्पनीहरु नोक्सानीमा छन् भने बाँकी १५ कम्पनीहरुको नाफा पनि गत वर्षको तुलनामा घटेको छ । समग्रमा हेर्दा कम्पनीहरुको नोक्सानी घट्दै गएको देखिएको छ । 

‘ब्याजदर घट्दा सुधारियो ब्यालेन्ससिट’

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्की ट्रान्समिसन लाइनको निर्माण र बैंकहरुको घट्दो ब्याजदरका कारण पनि जलविद्युत कम्पनीकाे वित्तीय अवस्थामा सुधार आएको बताउँछन् ।

उनले भने, ‘शुरुका दिनहरुमा ट्रान्समिसन लाइन नबन्दा समस्या भएको थियो । अहिले केही सुधार भएको छ । ट्रान्समिसन लाइन समयमा बनेनन् । उत्पादन भएको बिजुली पनि कसैले किनिदिएनन् । कतिपय कम्पनीहरुले लाभांश दिन सकेनन् । तर, अहिले विद्युतको बजार पनि सुनिश्चित भएको छ र ट्रान्समिसन लाइन पनि बनेका छन् । यसले पनि वित्तीय विवरणमा सुधार आएको हो ।’

यसका साथै उनले पछिल्लो समय बैंकरुहरुको ब्याजदर घट्दा पनि कम्पनीहरुको अवस्थामा सुधार आएको बताए । ‘विगतका दिनहरुमा ८ प्रतिशतमा लिएको ऋणको ब्याज १२ प्रतिशतसम्म तिर्नु पर्यो । अहिले ब्याजदर घटेका कारण बैंकहरुको ऋण पनि घटेको छ । लगानी उठाएर आयोजनाहरु बनाउने क्रम पनि बढ्दो छ ।’

अपि पावरको नाफामा १४ हजार प्रतिशतको ग्रोथ

पुस मसान्तसम्म आइपुग्दा सर्वाधिक नाफा बढाउनेमा अपि पावर कम्पनी रहेको छ । गत वर्ष २१ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १४ हजार ४४४ दशलमव ४७ प्रतिशतले बढी हो ।

आयोजनाहरु पूर्ण क्षमतामा चलेका कारण नाफामा उल्लेख्य वृद्धि भएको अपि पावरका कार्यकारी सञ्चालक सञ्जिव न्यौपाने बताउँछन् । उनले भने, ‘हाम्रो मुख्य लगानी इङवा हाइड्रोपावरमा हो । दोस्रो त्रैमाससम्म आइपुग्दा उक्त कम्पनीको शेयरमूल्य रिफ्लेक्ट भएर बसेको छ । यसले गर्दा हाम्रो आम्दानी बढेको देखिन्छ । हाम्रो पावर हाउसहरु पूर्ण क्षमतामा चलेका छन् । उत्पादनमा पनि वृद्धि भएको छ ।’

अपि पावरले नौगड गाढ जलविद्युत आयोजना, अप्पर नौगड गाढ जलपिद्युत आयोजना, माथिल्लो चमेलिया जलविद्युत आयोजना गरी तीन हाइड्रोपावर सञ्चालन गरेको छ भने सोलार तर्फ चन्द्रनिगाहपुर सौर्य आयोजना, ढल्केबर सौर्य आयोजना र सिमरा सौर्य आयोजना सञ्चालन गरेको छ ।

अवि पावरद्वारा सञ्चालित तीन वटा हाइड्रोपावर र सोलार आयोजनाहरु राष्ट्रिय प्रशारण लाइनमा जोडेर चलाएको छ । यसको आम्दानीको प्रभावले गर्दा नाफामा बढोत्तरी भएको उनको भनाई छ ।

त्यस्तै यस अवधिमा आइपुग्दा तेह्रथुम पावर कम्पनीको नाफा ५१५.३४ प्रतिशतले बढेको छ । मकर जीतुमाया सुरी हाइड्रोपावरको नाफा ३४०.६४ प्रतिशत र युनाइडेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको नाफा ११२.२२ प्रतिशतले बढेको छ ।

यस अवधिमा आइपुग्दा अरुण भ्याली हाइड्रोपावरको नाफा ७३४.९८ प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोपावरको नाफा २२५.१५ प्रतिशत, हिमालयन हाइड्रोपावरको २६० प्रतिशत र बुद्ध भूमि नेपाल हाइड्रोपावरको नाफा ९१.८८ प्रतिशतले बढेको छ ।

पाैने २२ अर्बको विद्युत बिक्री

यस अवधिमा कम्पनीहरुले पाैने २२ अर्ब रुपैयाँ बराबरको विद्युत बिक्री गरेर उक्त रकम बराबरको नाफा कमाएका हुन् । पुस मसान्तसम्म ८९ हाइड्रोपावरहरुले २१ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेका छन् । 

उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ७.४१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा जलविद्युत कम्पनीहरुले २० अर्ब २८ करोड २९ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका थिए ।

प्रकाशित वित्तीय विवरण अनुसार पुस मसान्तसम्म आइपुग्दा ४५ हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढेको छ भने ३० कम्पनीहरुको विद्युत बिक्री आम्दानी घटेको छ ।

त्यस्तै अन्य नौं कम्पनीहरुले यस वर्षदेखि विद्युत उत्पादन थालनी गरेका छन् भने हालसम्म सूचीकृतमध्ये ५ वटा कम्पनीले भने विद्युत उत्पादन गरी बिक्री गर्न सकेका छैनन् ।

पुस मसान्तसम्मको विवरण अनुसार अरुण काबेलीको विद्युत बिक्री आम्दानी ७२८.३७ प्रतिशतले बढेको छ । त्यस्तै पिपुल्स हाइड्रोपावरको २३९.१६ प्रतितश, रिडि पावरको १२०.०४ प्रतिशत रमाया खोला हाइड्रोपावरको विद्युत बिक्री आम्दानी २६०.१२ प्रतिशतले बढेको छ । 

यस अवधिमा आइपुग्दा सिंगटी हाइड्रोपावर कम्पनीको विद्युत बिक्री आम्दानी १५३.८२ प्रतिशतले बढेको छ । बिद्युत बिक्री आम्दानी बढ्दा गत वर्ष ४२ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको नाफा बढेर १४ करोड २८ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै साञ्जेन जलविद्युत कम्पनीको विद्युत बिक्री आम्दानी १९९.४८ प्रतिशतले बढेको छ भने रावा इनर्जीको १०८.०५ प्रतिशत र अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ३४१.२६ प्रतिशतले बढेको छ ।

तीन कम्पनीले बेचे अर्बौको बिजुली

पुस मसान्तसम्म अपर तामाकोशी हाइड्रोपावरले ३ अर्ब ३४ करोड ८८ लाख रुपैयाँ बराबरको विद्यूत बिक्री गरेको छ । यद्यपि, उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा भने ३७.४८ प्रतिशत कमी हो । गत वर्ष कम्पनीले ५ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ बराबरको बिजुली बेचेको थियो ।

गत असोजमा आएको बाढीले धेरै आयोजनाहरु क्षतिग्रस्त भएका थिए । अप्प्र तामाकोशीको आयोजनामा पनि ठुलो क्षति पुर्याएको थियो । लामो समय विद्युत उत्पादन नै बन्द अवस्थामा रहँदा कम्पनीको विद्युत बिक्री आम्दानी घटेको हो ।

त्यस्तै यस अवधिमा साहस उर्जाको विद्युत बिक्री आम्दानी ५.३५ प्रतिशतले बढेको छ । गत वर्ष  एक अर्ब ५३ करोड ३३ लाखको बिजुली बेचेको कम्पानीले यस अवधिमा एक अर्ब ६१ करोड ५६ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । त्यस्तै सानिमा मिडल तमोरले पनि एक अर्ब ७ करोड ३ लाख बढीको विद्युत बिक्री आम्दानी गरेको छ ।


 

Advertisment