Below Menu
Below Menu

बन्दीपुर भ्रमण वर्ष सफल बनाउन गोरखापत्र संस्थानले सहयोग गर्ने

बन्दीपुर भ्रमण वर्ष सफल बनाउन गोरखापत्र संस्थानले सहयोग गर्ने

दमौली : तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गोरखापत्र संस्थानले प्राथमिकता दिने भएको छ । 

बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा गोरखापत्र संस्थान र पद्म पुस्तकालयले मंगलबार बन्दीपुरमा आयोजना गरेको राष्ट्रिय सिर्जना सम्मेलनमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले भ्रमण वर्ष सफल बनाउन सञ्चारमाध्यमका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । 

उनले बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गोरखापत्रबाट पूर्ण सहयोग रहने बताए । महाप्रबन्धक ऐरीले भने, “बन्दीपुर भ्रमण वर्ष सफल बनाउनु हाम्रो पनि जिम्मेवारी हो । बन्दीपुरको पर्यटकीय गतिविधिलाई संस्थानले प्राथमिकताका साथ प्रकाशन गर्नेछ ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले भ्रमण वर्ष सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै यस अभियानमा जोडिएकामा संस्थानलाई धन्यवाद दिए । 

हाल यहाँ वार्षिक रूपमा एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहॉको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको उनले बताए ।  अध्यक्ष थापाले गाउँपालिका क्षेत्रका सबै पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताए ।

“बन्दीपुर बजारमात्रै नभई गाउँगाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुर्याउने लक्ष्य छ । भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेजसमेत बनाएका छौँ”, उनले भने ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले पद्म पुस्तकालयका लागि अध्यक्ष सुदर्शन प्रधानलाई संस्थानका तर्फबाट दुई सय थान पुस्तक हस्तान्तरण गरे । 

Advertisment

थप समाचार