Below Menu
Below Menu

बैंकिङ प्रणालीबाट १४८ खर्ब तरलता प्रशोचन, कर्जा लगानी कति ? 

बैंकिङ प्रणालीबाट १४८ खर्ब तरलता प्रशोचन, कर्जा लगानी कति ? 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनामा बैंकिङ प्रणालीबाट १४८ खर्ब तरलता प्रशोचन गरेको छ । 

राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्ब ९ अर्ब ५५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १३० खर्ब ५२ अर्ब रुपैयाँ गरी कुल १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।

यस अवधिमा ओभरनाइट तरलता सुविधामार्फत दुई अर्ब ७० करोड तरलता प्रवाह हुँदा १४८ खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँ(कारोबारमा आधारित) खुद तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधामार्फत तरलता प्रवाह र निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन हुँदा रु.२७ अर्ब ९४ करोड खुद तरलता प्रशोचन भएको थियो । 

तरलता सहज भएसँगै अल्पकालीन ब्याजदर लगायत बैंक तथा वित्तीय संस्थाहरुको आधार दर तथा निक्षेप र कर्जाको ब्याजदरसमेत घटेको छ । 
सञ्चालन लक्ष्यको रुपमा रहेको बैंक तथा वित्तीय संस्थाहरुबीचको भारित औसत अन्तरबैंक दर २०८० माघमा ३.०४ प्रतिशत रहेकोमा २०८१ माघमा ३.०० प्रतिशत रहेकोछ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ २६५ अर्ब ५६ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ रु.१९२ अर्ब ६४ करोड थप कर्जा प्रवाह भएको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको थियो। बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा ९.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत रहेको थियो। 

२०८० पुसमा ९.३५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ पुसमा ६.६५ प्रतिशत कायम भएको छ । त्यसैगरी, २०८० पुसमा ७.३२ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २०८१ पुसमा ४.७५ प्रतिशत कायम भएको छ । २०८० पुसमा ११.३८ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०८१ पुसमा ८.६९ प्रतिशत रहेको छ ।
 

Advertisment

थप समाचार