काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६२ हजार बढी बीमितले साढे आठ अर्ब बढीको बीमा पोलिसी सरेन्डर गरेका छन् ।
यस अवधिमा १४ जीवन बीमा कम्पनीका ६२ हजार ५२३ बीमितले आठ अर्ब ५९ करोड एक लाख ९९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।
प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका बीमितले पोलिसी सरेन्डर गरेका छन् । माघसम्म उक्त कम्पनीका १५ हजार ३६२ बीमितले दुई अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।
त्यस्तै, नेपाल लाइफका १४ हजार २५ बीमितले दुई अर्ब ३६ करोड २४ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् भने राष्ट्रिय जीवन बीमा कम्पनीका आठ हजार ४९१ बीमितले ७८ करोड ६४ लाख ४८ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ५५ करोड १५ लाख ९७ रुपैयाँ बराबरको तीन हजार ७२० वटा, मेट लाइफको २४ करोड १२ लाख ८६ हजार रुपैयाँको एक हजार ७९४ वटा, एशियन लाइफको ५४ करोड १९ लाख २६ हजार रुपैयाँ बराबरको ५ हजार १११ बीमालेख र आईएमई लाइफ इन्स्योरेन्सको १२ करोड ३१ लाख ९७ हजार रुपैयाँ बराबरको एक हजार ७३ बीमालेख सरेन्डर भएका छन् ।
प्राधिकरणका अनुसार माघ मसान्तम्म सन नेपाल लाइफको सबैभन्दा कम चार करोड ५५ लाख १२ हजार रुपैयाँ बराबरको ४४२ वटा बीमालेख सरेन्डर भएका छन् भने यस अवधिमा रिलायबल नेपाल लाइफका ९६५ बीमितले छ करोड ४३ लाख ९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।
त्यस्तै, सिटिजन लाइफ नेपालका एक हजार ६६० बीमितले १४ करोड ९१ लाख तीन हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् भने सूर्यज्योति लाइफको ४६ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरको तीन हजार ४८३ बीमालेख सरेन्डर भएका छन् ।
त्यसैगरी सानिमा रिलायन्स लाइफको १५ करोड ३६ लाख ६० हजार रुपैयाँको एक हजार ७७ वटा, हिमालयन लाइफको ३७ करोड ८१ लाख ८७ हजार रुपैयाँ बराबरको चार हजार १३३ वटा र प्रभु महालक्ष्मी लाइफको १२ करोड ४६ लाख ८० हजार रुपैयाँ बराबरको ८८२ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Advertisment