काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाबाट १४ हजार ८६१ अर्ब बढी तरलता प्रशोचन गरेको छ ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्ब ९ अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत १३० खर्ब ५२ अर्ब गरी कुल १४ हजार ८६१ अर्ब ५५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ भने २ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद रु.२७ अर्ब ९४ करोड तरलता प्रशोचन गरिएको थियो ।
यस अवधिमा बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ८७ करोड खुद खरिद गरी ३ खर्ब ८७ अर्ब ५६ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब १९ करोड खुद खरिद गरी रु.४२४ अर्ब तरलता प्रवाह गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म अमेरिकी डलर २ अर्ब २४ करोड बिक्री गरी ३ खर्ब ३ अर्ब ७० करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब १६ करोड बिक्री गरी रु.२८७ अर्ब २५ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
Advertisment