एक वर्षमा नेप्से परिसूचक ५८४.५७ अंकले बढ्यो, साढे १६ अर्बको शेयर सूचीकृत 

एक वर्षमा नेप्से परिसूचक ५८४.५७ अंकले बढ्यो, साढे १६ अर्बको शेयर सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५८४.५७ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार एक वर्षमा नेप्से उक्त अंकले बढेको हो । 

Sponsored Advertisement

गत वर्षको माघ मसान्तमा २१०१.१६ बिन्दुमा रहेको नेप्से सूचकाङ्क चालु आवको  माघ मसान्तमा आइपुग्दा २६८५.७३ बिन्दुमा कायम भएको छ । 
माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ५८ अर्ब ५२ करोड कायम भएको छ । गत वर्षको माघ मसान्तमा बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड रहेको थियो । 

चालु आवको यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । गत वर्ष सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५३.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १६.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.० प्रतिशत रहेको छ । 

माघ मसान्तसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ६७ करोड शेयरको चुक्ता मूल्य रु.८५४ अर्ब ९१ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ७ अर्ब ४२ करोड बराबरको बोनस शेयर, ३ अर्ब ९१ करोड बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ७ करोड ५० लाख बराबरको साधारण शेयर, रु.४ करोड ४५ लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु.१६ अर्ब ६६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । 

यस अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१० अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, रु.९ अर्ब ३० करोड बराबरको हकप्रद शेयर, रु.१ अर्ब ३२ करोड बराबरको डिबेन्चर र रु.८५ करोड ५० लाख बराबरको साधारण शेयर गरी कुल रु.२१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । 
 

थप समाचार