काठमाडौं : होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो वृहत् अधिवेशन दोलखाको सदरमुकाम चरिकोटमा हुने भएको छ । बागमती प्रदेशको आयोजना र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको सहआयोजनामा यहीँ चैत ४ र ५ गते दुईदिन अधिवेशन हुने भएको हो ।
अधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने छन् भने विशिष्ट अतिथिको रुपमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले रहने आयोजकले जनाएको छ ।
यस अधिवेशनले संघको भावि नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनका लागि संघमा आवद्ध बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाहरुमा रहेका होटल तथा पर्यटन व्यवसायीहरु तथा जिल्ला संघका अध्यक्षहरुको सहभागिता रहनेछ ।
उसो त वृहत् अधिवेशनमा केन्द्रीय संघ, होटल तथा पर्यटन व्यवसायी संघ, नेपालमा आवद्ध ७ वटै प्रदेशका प्रदेश अध्यक्ष तथा प्रतिनिधि परिवेक्षकहरुको समेत उल्लेख्य सहभागिता रहने बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालले जानकारी दिए ।
संघको भावि नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको नेपालले जानकारी दिए । उनले भने, ‘संघको भावि नेतृत्वका लागि अधिकतम सहमतिको प्रयास भइरहेको छ । मिलेर जानुपर्नेमा सबै जिल्ला संघ तथा प्रदेशमा आवद्ध व्यवसायी सार्थीहरुको एकमत छ । त्यसको तयारी हुँदैछ ।’
चौथो साधारणसभाबाट आएको अध्यक्ष नेपालसहितको कार्यसमितिले दुई वर्ष केहीँ नीतिगत तथा व्यवसायिक हक हितको लविङको काम गरेको छ । थप संघलाई नयाँ उचाई दिनेगरी संघलाई स्थापित गर्न बाँकी नै रहेको भन्दै अध्यक्ष नेपालले सबैको साथ र सहयोग रहे सो जिम्मेवारी लिन आफु तयार रहेको समेत बताए । यसका लागि सर्वसहमतिको प्रयास अन्तिम विन्दुमा पुगेको उनले बताए ।
Advertisment