काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उलेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा कम्पनीहरुले एक खर्बभन्दा माथिको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार फागुन मसान्तसम्म कम्पनीहरुले एक खर्ब आठ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड ३४ लाख ४६ हजार ७९२ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।
उक्त रकम गत आवको सोही अवधिको तुलनामा १०.३३ प्रतिशत अर्थात १० अर्ब १७ करोड ९७ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले एक करोड ३७ लाख ८० हजार २ बीमालेख बिक्री गरी ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए ।
गत माघको तुलनामा फागुनमा कम्पनीहरुले ११ अर्ब ६५ करोड आठ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । गत फागुनमा मात्र कम्पनीहरुले ४ लाख १५ हजार ७६७ बीमा लेख जारी उक्त रकम बराबरको बीमाशुल्क कमाएका छन् ।
यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार आठ महिनामा कम्पनीले १९ लाख चार हजार ९६ बीमालेख बिक्री गरी २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ७३ हजार ९४८ बीमालेख जारी गरी चार अर्ब ४७ करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
त्यस्तै नेशनल लाइफले १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँको व्यापार गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ५६ करोड पाँच लाख हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यसैगरी फागुन मसान्तसम्म मेट लाइफले तीन अर्ब ८८ करोड नौं लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै एशियन लाइफले पाँच अर्ब ६९ करोड ८२ लाख, आईएमई लाइफले तीन अर्ब २८ करोड ७८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा आइपुग्दा सन नेपाल लाइफले दुई अर्ब ७० करोड २९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने रिलायबल नेपाल लाइफले तीन अर्ब १७ करोड ५९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले चार अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै सूर्यज्योति लाइफले छ अर्ब ६९ करोडको ५० लाख र सानिमा रिलायन्स लाइफले चार अर्ब २९ करोड २६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
प्राधिकरणका अनुसार चालु आवको फागुन मसान्तसम्म हिमालयन लाइफले ११ अर्ब २२ करोड २७ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ भने प्रभु महालक्ष्मी लाइफले तीन अर्ब १९ करोड ७६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघुबीमाको व्यापार ७२ करोडमाथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । फागुन मसान्तसम्म कम्पनीहरुले सात लाख ९१ हजार ८५६ बीमालेख जारी गरी ७२ करोड ४६ लाख १२ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले २८ करोड पाँच लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले २६ करोड ६४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १७ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
Advertisment