लघु बीमाको लोकप्रियता बढ्दोः व्यवसायमा तीव्र विस्तार, लाभांश बाँड्न सक्षम 

लघु बीमाको लोकप्रियता बढ्दोः व्यवसायमा तीव्र विस्तार, लाभांश बाँड्न सक्षम 

काठमाडौं : पछिल्लो समय लघु बीमा व्यवसायमा उल्लेख्य वृद्धि भएको पाईएको छ । हाल सञ्चालित सात लघुबीमा कम्पनीहरुले आठ महिनामा सवा एक अर्ब माथिको व्यवसाय गरेका छन् । 

Sponsored Advertisement

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कम्पनीहरुले १० लाख २१ हजार ८६० बीमालेख जारी गरी एक अर्ब ३० करोड ४२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । जुन जीवन र निर्जीवन बीमक कम्पनीहरुको हो । 

उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ७०४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा लघु बीमा कम्पनीहरुले ७२ हजार ६०५ बीमालेख जारी गरी १६ करोड २२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।

जीवन लघुबीमाको व्यापार ११३० प्रतिशतले बढ्यो 

प्राधिकरणका अनुसार जीवन लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । चालु आवको आठ महिनामा कम्पनीहरुले सात लाख ९१ हजार ८५६ बीमालेख जारी गरी ७२ करोड ४६ लाख १२ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

जुन गत वर्षको सोही अवधिको तुलनामा एक हजार १३०.२२ प्रतिशतले बढी हो । गत वर्षको फागुन मसान्तसम्म कम्पनीहरुले २७ हजार २४७ बीमालेख जारी गरी ५ करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संलन गरेका थिए ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले २८ करोड पाँच लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले २६ करोड ६४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १७ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

व्यवसायमा मन्दीको असर छैन, ५ प्रतिशतसम्म लाभांश बाँड्न सक्छौं 

आर्थिक मन्दीका कारण समग्र वित्तीय क्षेत्रमा समस्यामा परेका बेला लघुबीमाको व्यवसायमा भने असर नरहेको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रताम मान श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘हामीले सानो रकमको बीमा गर्ने हो । सहकारी र लघुवित्त मार्फत सानो रकमको कारोबार गर्ने भएकाले आर्थिक मन्दीको असर छैन । व्यवसायको विस्तारमा पनि राम्रो वृद्धि देखिएको छ । सहकारी, लघुवित्त र वडा कार्यालय मार्फत ग्रामिण भेगामा महिला समुह जस्ता साना समुह बनाएर लगानी गरेका छौं ।’

यसका साथै उनले ग्रामिण भेगमा समेत बीमाबारे बुझाउन समस्या नरेहेको बताए । प्राधिकरणको बीमा कार्यक्रममा ४२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको छ । ४२ प्रतिशतमा बीमाको पहुँच पुग्नु भनेको वैदेशिक रोजगारीमा जानेहरुको समेत गर्दा प्रत्येक घरमा एक जनाले बीमा गरेको देखाउँछ । अहिले धेरै नागरिकले बीमाबारे बुझेका छन् । ग्रामिण भेगमा पनि बीमाबारे बुझाउन गाह्रो छैन ।’

अहिले लघवित्तहरुको लोन घट्दै गएकाले केही चुनौती देखिएको छ । तथापी सबै गाउँ–गाउँमा पुगेर हामीले व्यवसाय विस्तार गरिहेको उनको भनाई छ । ‘व्यवसाय विस्तारकै क्रममा शहर क्षेत्रका ग्रामिण वस्तीहरुलाई पनि केन्द्रीत गरेका छौं’, उनले थपे । 

यसका साथै कम्पनीको वित्तीय अवस्था राम्रो भएकाले आगामी वर्ष शेयरधनीहरुमा लाभांश वितरण गर्ने उनले बताए । 

उनले भने, ‘अहिले नै सर्वसाधारणमा शेयर जारी गरेका कारण लाभांश वितरण गर्न मिल्दैन । चालु आवको आठ महिनाको व्यवसाय हेर्दा पनि राम्रो वृद्धि छ । यसलाई आधार मानेर बीमा प्राधिकरणले स्वीकृति दियो आगामी आवमा ५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्छौं । कम्पनी शुरुवाती वर्षदेखि नै नाफामा छ ।’

निर्जीवन लघु बीमाको व्यापार पौने ५८ करोड 

प्राधिकरणका अनुसार यस अवधिमा सञ्चालनमा रहेका चार लघुबीमा कम्पनीले पौने ५८ करोड रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरुले दुई लाख ३० हजार ७ बीमालेख जारी गरी ५७ करोड ९६ लाख ९१२ हजार रुपैयाँ बीमाशुल्क उठाएका हुन् । 

उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ४६१.०८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४५ हजार ३५८ बीमालेख जारी गरी १० करोड ३३ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको थियो । 

केही समयअघि सर्वसाधारणमा शेयर (आईपीओ) जारी गरेको नेपाल माइक्रो इन्स्योरेन्सले यस अवधिमा सबैभन्दा बढी १६ करोड ६४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १४ करोड ६३ लाख, स्टार माइक्रोले १३ करोड ५१ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १३ करोड १६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

के हो लघुबीमा ? 

नेपाल बीमा प्राधिकरणले जारी गरेको ‘लघुबीमा निर्देशिका, २०७६’ अनुसार न्यून आय भएको वर्गका व्यक्तिहरुलाई लक्षित गरी ल्याएको बीमा नै लघुबीमा हो । यसलाई लघु जीवन बीमा र लघु निर्जीवन बीमा गरी २ भागमा बाँडिएको छ ।

आर्थिक रुपले पिछडिएका विपन्न तथा न्यून आय भएका सीमान्तकृत समुदायका व्यक्तिहरुले भविष्यमा हुनसक्ने सम्भावित जोखिमको लागि गरिने बीमा लघु बीमा हो । ती व्यक्तिहरुले आर्थिक र सामाजिक कारणबाट हुनसक्ने जोखिमसँग सामना गर्न तथा उनीहरुको जीउ धनको सुरक्षा गर्ने बीमा नै लघु बीमा हो ।

सरकारले न्युन आए भएका जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीमा आफ्नो बीमा गर्न सक्ने आर्थिक क्षमता नभएका नेपाली नागरिकको लागि लघु बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

नेपालमा हाल सात वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । जसमा तीन वटा लघु जीवन बीमा कम्पनी र चार वटा लघु निर्जीवन बीमा कम्पनी छन् । 

थप समाचार