काठमाडौं : पछिल्लो समय लघु बीमा व्यवसायमा उल्लेख्य वृद्धि भएको पाईएको छ । हाल सञ्चालित सात लघुबीमा कम्पनीहरुले आठ महिनामा सवा एक अर्ब माथिको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कम्पनीहरुले १० लाख २१ हजार ८६० बीमालेख जारी गरी एक अर्ब ३० करोड ४२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । जुन जीवन र निर्जीवन बीमक कम्पनीहरुको हो ।
उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ७०४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा लघु बीमा कम्पनीहरुले ७२ हजार ६०५ बीमालेख जारी गरी १६ करोड २२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।
जीवन लघुबीमाको व्यापार ११३० प्रतिशतले बढ्यो
प्राधिकरणका अनुसार जीवन लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । चालु आवको आठ महिनामा कम्पनीहरुले सात लाख ९१ हजार ८५६ बीमालेख जारी गरी ७२ करोड ४६ लाख १२ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
जुन गत वर्षको सोही अवधिको तुलनामा एक हजार १३०.२२ प्रतिशतले बढी हो । गत वर्षको फागुन मसान्तसम्म कम्पनीहरुले २७ हजार २४७ बीमालेख जारी गरी ५ करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संलन गरेका थिए ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले २८ करोड पाँच लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले २६ करोड ६४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १७ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
व्यवसायमा मन्दीको असर छैन, ५ प्रतिशतसम्म लाभांश बाँड्न सक्छौं
आर्थिक मन्दीका कारण समग्र वित्तीय क्षेत्रमा समस्यामा परेका बेला लघुबीमाको व्यवसायमा भने असर नरहेको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रताम मान श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, ‘हामीले सानो रकमको बीमा गर्ने हो । सहकारी र लघुवित्त मार्फत सानो रकमको कारोबार गर्ने भएकाले आर्थिक मन्दीको असर छैन । व्यवसायको विस्तारमा पनि राम्रो वृद्धि देखिएको छ । सहकारी, लघुवित्त र वडा कार्यालय मार्फत ग्रामिण भेगामा महिला समुह जस्ता साना समुह बनाएर लगानी गरेका छौं ।’
यसका साथै उनले ग्रामिण भेगमा समेत बीमाबारे बुझाउन समस्या नरेहेको बताए । प्राधिकरणको बीमा कार्यक्रममा ४२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको छ । ४२ प्रतिशतमा बीमाको पहुँच पुग्नु भनेको वैदेशिक रोजगारीमा जानेहरुको समेत गर्दा प्रत्येक घरमा एक जनाले बीमा गरेको देखाउँछ । अहिले धेरै नागरिकले बीमाबारे बुझेका छन् । ग्रामिण भेगमा पनि बीमाबारे बुझाउन गाह्रो छैन ।’
अहिले लघवित्तहरुको लोन घट्दै गएकाले केही चुनौती देखिएको छ । तथापी सबै गाउँ–गाउँमा पुगेर हामीले व्यवसाय विस्तार गरिहेको उनको भनाई छ । ‘व्यवसाय विस्तारकै क्रममा शहर क्षेत्रका ग्रामिण वस्तीहरुलाई पनि केन्द्रीत गरेका छौं’, उनले थपे ।
यसका साथै कम्पनीको वित्तीय अवस्था राम्रो भएकाले आगामी वर्ष शेयरधनीहरुमा लाभांश वितरण गर्ने उनले बताए ।
उनले भने, ‘अहिले नै सर्वसाधारणमा शेयर जारी गरेका कारण लाभांश वितरण गर्न मिल्दैन । चालु आवको आठ महिनाको व्यवसाय हेर्दा पनि राम्रो वृद्धि छ । यसलाई आधार मानेर बीमा प्राधिकरणले स्वीकृति दियो आगामी आवमा ५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्छौं । कम्पनी शुरुवाती वर्षदेखि नै नाफामा छ ।’
निर्जीवन लघु बीमाको व्यापार पौने ५८ करोड
प्राधिकरणका अनुसार यस अवधिमा सञ्चालनमा रहेका चार लघुबीमा कम्पनीले पौने ५८ करोड रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरुले दुई लाख ३० हजार ७ बीमालेख जारी गरी ५७ करोड ९६ लाख ९१२ हजार रुपैयाँ बीमाशुल्क उठाएका हुन् ।
उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ४६१.०८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४५ हजार ३५८ बीमालेख जारी गरी १० करोड ३३ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको थियो ।
केही समयअघि सर्वसाधारणमा शेयर (आईपीओ) जारी गरेको नेपाल माइक्रो इन्स्योरेन्सले यस अवधिमा सबैभन्दा बढी १६ करोड ६४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १४ करोड ६३ लाख, स्टार माइक्रोले १३ करोड ५१ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १३ करोड १६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
के हो लघुबीमा ?
नेपाल बीमा प्राधिकरणले जारी गरेको ‘लघुबीमा निर्देशिका, २०७६’ अनुसार न्यून आय भएको वर्गका व्यक्तिहरुलाई लक्षित गरी ल्याएको बीमा नै लघुबीमा हो । यसलाई लघु जीवन बीमा र लघु निर्जीवन बीमा गरी २ भागमा बाँडिएको छ ।
आर्थिक रुपले पिछडिएका विपन्न तथा न्यून आय भएका सीमान्तकृत समुदायका व्यक्तिहरुले भविष्यमा हुनसक्ने सम्भावित जोखिमको लागि गरिने बीमा लघु बीमा हो । ती व्यक्तिहरुले आर्थिक र सामाजिक कारणबाट हुनसक्ने जोखिमसँग सामना गर्न तथा उनीहरुको जीउ धनको सुरक्षा गर्ने बीमा नै लघु बीमा हो ।
सरकारले न्युन आए भएका जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीमा आफ्नो बीमा गर्न सक्ने आर्थिक क्षमता नभएका नेपाली नागरिकको लागि लघु बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
नेपालमा हाल सात वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । जसमा तीन वटा लघु जीवन बीमा कम्पनी र चार वटा लघु निर्जीवन बीमा कम्पनी छन् ।
Sponsored Advertisment
Advertisment