काठमाडौं : बैंकिङ प्रणाली भएको अधिक तरलताको मौका छोप्दै सरकारले सस्तो ब्याजदरमा धमाधम आन्तरिक ऋणमा उठाईरहेको छ ।
चालू आर्थिक वर्षको चैत १४ गतेसम्ममा दुई खर्ब बढी आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंक मार्फत सरकारले औसत ४.७२ प्रतिशतको ब्याजदरमा नै कूल दुई खर्ब सात अर्ब १० करोड रुपैयाँ ऋण उठाएको हो ।
सरकारले विकास ऋणपत्रमार्फत दीर्घकालीन र ट्रेजरी बिलमार्फत अल्पकालीन ऋण उठाउने गरेको छ । यस अवधिमा विकास ऋणपत्रमार्फत मात्रै उक्त रकम बराबरको ऋण उठाएको हो ।
सरकारले यस अवधिमा २१ पटक गरी ३ वर्षदेखि ११ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्तरिक ऋण उठाएको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिदै गएको छ । बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण उठाएको हो ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा ६७ खर्ब ५५ अर्ब रुपैयाँ तरलता थुप्रिएको छ भने कर्जा लगानी ५४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ ।
Advertisment