काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बिहिबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।
सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १० अर्बले बढेर ६८ खर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् चैत २० गते बुधबारसम्म बैंक तथा वित्तीय संस्थामा ६७ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन आठ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा एक अर्ब निक्षेप थपिएर ७ खर्ब २८ अर्ब रुपैयाँ पुगेको रहेको छ । अघिल्लो दिनसम्म ६० खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा बढेर ६० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानीमा पनि सामान्य सुधार देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा १० अर्ब निक्षेप थपिँदा पाँच अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५४ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४८ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो दुबै घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ७९.३४ बिन्दुमा झरेको छ ।
Advertisment