काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाले ४८ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ४८ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका हुन् ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब ९२ करोड पाँच लाख रुपैयाँले बढी हो । गत वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको नाफा ४६ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार युस अवधिमा वाणिज्य बैंकहरुको नाफा ४३ अर्ब ४९ करोड, विकास बैंकहरुको नाफा चार अर्ब ३३ करोड र फाइनान्सहरुको नाफा ४७ करोड रुपैयाँ रहेको छ ।
सवा एक अर्बले बढ्यो वाणिज्य बैंकको नाफा
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले फागुन मसान्तसम्म ४३ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब १८ करोड ९ लाख रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा बैंकहरुले ४२ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । फागुन मसान्तसम्म बैंकले चार अर्ब ७८ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको हो ।
तीन बैंकको नाफा चार अर्बमाथि
सार्वजनिक तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्म नबिलसहित चार बैंकले चार अर्ब भन्दाबढी नाफा कमाएका छन् ।
ग्लोेबल आईएमईले चालु आवको यस अवधिमा चार अर्ब ७२ करोड ९४ लाख नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार अर्ब आठ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ ।
अन्य बैंकको नाफा
फागुन मसान्तसम्म प्राइम कमर्सियलले दुई अर्ब ५० करोड ३० लाख, एनएमबि बैंकले दुई अर्ब ७१ करोड ६७ लाख, प्रभु बैंकले दुई अर्ब ११ करोड ५० लाख, स्ट्याण्डर्ड चार्टडर्डले २ अर्ब १७ करोड ५२ लाख र नेपाल एसबिआईले एक अर्ब २४ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ ।
चालु आवको आठ महिनामा एभरेष्ट बैंकले यस अवधिमा तीन अर्ब ८८ लाख रुपैयाँ नाफा कमाएको छ भने लक्ष्मी सनराइजले एक अर्ब ९९ करोड २७ लाख र नेपाल बैंकले दुई अर्ब ९८ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ ।
राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ७२ करोड ३९ लाख रुपैयाँ, हिमालयन बैंकले एक अर्ब ६६ करोड ९७ लाख र सानिमा बैंकले एक अर्ब ६८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै माछापुच्छ्रे बैंकले एक अर्ब १६ करोड २२ लाख, सिद्धार्थ बैंकले एक अर्ब २१ करोड ६९ लाख र सिटिजन इन्टरनेशनल बैंकले एक अर्ब १६ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ ।
अर्ब क्लबमा पुगेनन् तीन बैंक
राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म आइपुग्दा १७ बैंकहरुको नाफा एक अर्ब भन्दा माथि रहेको छ भने अन्य बैंकहरुको नाफा करोडमा खुम्चिएको छ । यस अवधिमा कुमारीले ९६ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशियाले ८१ करोड ९९ लाख रुपैयाँ र कृषि विकास बैंकले ७३ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् ।
Advertisment