Below Menu
Below Menu

नेप्सेमा थपियो ३९ अर्ब २३ करोडको शेयर, ३७ प्रतिशतले बढ्यो लगानीकर्ताको सम्पत्ति  

नेप्सेमा थपियो ३९ अर्ब २३ करोडको शेयर, ३७ प्रतिशतले बढ्यो लगानीकर्ताको सम्पत्ति  

काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा लगानीकर्ताको सम्पत्ति झण्डै साढे ४५ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधमिा धितोपत्र बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड कायम भएको छ ।

उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा १२ खर्ब २९ अर्ब १८ करोड रुपैयाँले बढी हो । गत वर्षको फागुन मसान्तमा बजार पुँजीकरण ३३ खर्ब १४ अर्ब ६३ करोड रहेको थियो । 

२०८० फागुन मसान्तमा २१०८.७३ रहेको नेप्से सूचकाङ्क २०८१ फागुन मसान्तमा २७३६.४९ कायम भएको छ । चालु आवको फागुन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६८ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । गत आवको फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५३.२ प्रतिशत रहेको छ । 

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.१ प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.४ प्रतिशत रहेको छ । 

फागुन मसान्तसम्म चेप्सेमा सूचीकृत ८ अर्ब ७० करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ५७ अर्ब ५० करोड रहेको छ ।

यस अवधिमा १४ अर्ब ३९ करोड रुपैयाँ बराबरको बोनस शेयर, १३ अर्ब ९२ करोड रुपैयाँ बराबरको साधारण शेयर, ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, एक अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ करोड ७३ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर गरी कुल ३९ अर्ब २३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद शेयर, एक अर्ब ३२ करोड रुपैयाँ बराबरको डिबेन्चर र एक अर्ब २ करोड बराबरको साधारण शेयर गरी कुल २१ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
 

Advertisment

थप समाचार