नेपालको सेयर बजारमा महिलाहरुको उपस्थिती पहिला भन्दा अहिले बढ्दो क्रममा देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कुल डिम्याट खाता मध्ये महिलाको हिस्सा करिब ४२.५ प्रतिशत छ । हाल दोस्रो बजारमा सक्रिय महिला लगानीकर्ताको प्रतिशत करिब १५ प्रतिशत छ । ११ बजेदेखि ३ बजेसम्म सेयर बजार कारोबार हुने समय महिलाका लागि उत्तम समय मानिन्छ ।
नेपाली सेयर बजारमा बढ्दो सहभागिता महिलाहरूको आर्थिक सशक्तिकरणमा सकारात्मक संकेत हो । सेयर बजारको विभिन्न टेक्निकल प्रशिक्षणहरूमा पनि महिला सहभागिता आजभोलि बढ्दो क्रममा देखिन थालेको छ । साथै महिलामा पुरूष भन्दा बढी संयमता भएकाले बजार बढ्ने घट्ने गर्दा महिला लगानीकर्ताहरूले संयमता अपनाएको देखिन्छ ।
पहिला पहिला महिलाहरुले बचत मात्र गर्ने चलन थियो भन्ने अहिले बचतसँगै लगानी गर्नुपर्छ भने सोचको विकास भएको देखिन्छ । सेयर बजारले केवल नाफा मात्र होइन जोखिम पनि बोकेको हुन्छ । त्यसैले लगानी गर्नु अघि आधारभूत ज्ञान लिनु आवश्यक छ र सापेक्ष निर्णय लिन पर्छ भने कुरा महिला लगानीकर्ताहरूले बुझेर सेयर बजार सम्बन्धी समाचार, किताबहरु पढ्न र आफुलाई सेयर बजारको अध्ययन गर्न समय दिईराखेका हुन्छन् ।
डिजिटल प्रविधिको विस्तारले सेयर बजारमा महिलाहरूको सहभागिता बढाउन ठूलो भूमिका खेलेको छ । अनलाइन ट्रेडिङ प्लेटफर्महरू र मोबाइल एपहरूको प्रयोगले घरमै बसेर सेयर खरिद–बिक्री गर्न सम्भव बनाएको छ । यसले विशेष गरी घरेलु जिम्मेवारी र सामाजिक बाधाहरूले बाहिर निस्कन नसक्ने महिलाहरूलाई सेयर बजारमा प्रवेश गर्न सजिलो बनाएको छ ।
नेपालमा रेमिट्यान्सको ठूलो हिस्साले महिलाहरूको आर्थिक सशक्तिकरणमा योगदान गरेको छ । धेरैजसो रेमिट्यान्स प्राप्त गर्ने परिवारमा महिलाहरूले नै लगानी सम्बन्धी निर्णय लिने गरेको देखिन्छ । साथै, स्वरोजगारी र साना व्यवसाय सञ्चालन गर्ने महिलाहरूले आफ्नो बचतलाई सेयर बजारमा लगानी गर्न थालेका छन् । यो प्रवृत्ति विशेष गरी शहरी क्षेत्रमा बढी देखिन्छ ।
नेपालमा २०२४ मा इन्टरनेट प्रयोगकर्ता करिब १.५ करोड पुगेका छन् । जसले गृहिणीहरूलाई पनि डिजिटल पहुँचमा ल्याएको छ । नेपालमा धेरैजसो महिला गृहिणी छन् र उनीहरूको दैनिक कार्यसूचीमा बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्मको समय प्रायः खाली हुन्छ । यो समयलाई उनीहरूले सेयर बजारमा संलग्न भएर उपयोग गर्न सक्छन् ।
नेप्सेको ट्रेडिङ समय पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नै हुन्छ । जसले गृहिणीहरूलाई सेयर बजारमा सक्रिय हुन उपयुक्त अवसर प्रदान गर्छ । सेयर बजारमा लगानीले गृहिणीहरूलाई आर्थिक स्वतन्त्रता दिन्छ । खाली समयलाई उत्पादक बनाउँछ र नयाँ सीप सिक्ने अवसर दिन्छ । (लेखक शर्मिला खनाल, युवा लगानीकर्ता हुन्)
Advertisment