काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सहकारीको नियामक राष्ट्रिय सहकारी नियमन प्राधिकरण भएको विषयमा स्पष्ट हुन अभियानलाई आग्रह गरेका छन्। उनले सबै मिलेर प्राधिकरणलाई बलियो बाउनुपर्ने धारणा राखेका छन् । केन्द्रीय बैंक सहकारीको नियामक नभइ प्राधिकरणको सहयोगी मात्र भएको समेत बताए। सोही कारण सबै मिलेर प्राधिकरणलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशन तथा मापदण्ड २०८१ का कतिपय विषयमा अभियानले व्यक्त गरेका चासो र सरोकारप्रति केन्द्रीय बैंक सकारात्मक रहेको भन्दै तिनको न्यायोचित सम्बोधन गरिने विश्वास भने उनले दिलाए।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशन तथा मापदण्ड २०८१ का केही बुँदाहरूले सहकारी अभियानमा प्रतिकूल प्रभाव पार्ने भन्दै संशोधनको लागि पुगेको राष्ट्रिय सहकारी महासंघ नेतृत्वको टोलीसँगको छलफलमा उहाँले उक्त आश्वासन दिएका हुन् । महासंघ अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा आज बालुवाटार पुगेको टोलीले निर्देशनका केही बुँदाहरूको संशोधन तथा पुनरावलोकनको माग राखेको थियो ।
प्रत्युत्तरमा पौडेलले राष्ट्र बैंक सहकारीको नियामक नभएको समेत बताउँदै नियमन र कारबाहीको काम प्राधिकरणको भएकाले यसमा स्पष्ट हुन अभियानलाई आग्रह गरे । राष्ट्र बैंकले बनाएको मापदण्डले मात्र सहकारी चल्न नसक्ने बताउँदै कार्यकारी निर्देशक पौडेलले संशोधित सहकारी ऐनमा भएको व्यवस्था अनुसार प्राधिकरणले काम गर्नुपर्ने बताए । मापदण्ड र निर्देशन जारी गर्ने र सहयोगका लागि प्राधिकरणबाट केही अनुरोध भए बैंकले सहयोग गर्ने स्पष्ट पारे। केन्द्रीय बैंक प्राविधिक विषयमा प्राधिकरणको सहयोगी भएको पौडेलले बताए।
छलफलका क्रममा अध्यक्ष मल्लले निर्देशनका कारण सहकारी संघसंस्थाको व्यवस्थापन, सदस्यको सेवा प्रवाह, तथा वित्तीय परिचालनमा आएको असरबारे विस्तृत जानकारी गराउँदै सहकारीहरूको विशिष्ट स्वरूपलाई बुझेर नीतिगत निर्णय लिन आग्रह गरिन् । प्रतिनिधिमण्डलसँगको छलफलमा राष्ट्र बैंकका कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना पूर्ण सहभागि हुन नसकेपछि सुझाव संकलनको जिम्मा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई दिएका थिए ।
सहकारी अभियन्ताहरूले निर्देशनले सहकारी संस्थामा वित्तीय असन्तुलन, सदस्यको विश्वासमा गिरावट र सेवा प्रवाहमा अवरोध ल्याउन सक्ने चिन्ता व्यक्त गरे । कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले सहकारी क्षेत्रको चासो र सरोकारप्रति आफू सकारात्मक रहेको स्पष्ट पारे ।
छलफलमा महासंघका उपाध्यक्ष डिवी बस्नेत, इन्दिरा पन्त, टेकप्रसाद चौलागाईं, साथै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंक, प्रोस्कून, तथा विभिन्न जिल्लास्तरीय सहकारी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । सहकारी क्षेत्रलाई सुदृढ, दिगो र समाजमैत्री बनाउने उद्देश्यका साथ सहकार्यको वातावरण निर्माण गर्न राष्ट्र बैंक सकारात्मक बन्नुपर्ने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो ।
Advertisment