काठमाडौं : चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफा सामान्य बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकहरुको नाफा १.४० प्रतिशतले बढेको हो ।
चैत मसान्तसम्म बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ५६ करोड ८० लाख ५७ हजार रुपैयाँले बढी हो । गत वर्ष बैंकहरुको नाफा ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा आइपुग्दा हाल सञ्चालनमा रहेका २० बैंकहरुमध्ये ११ बैंकको नाफा बढेको छ भने नौं वटा बैंकहरुको नाफा घटेको छ । यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले चालु आवको नौं महिनामा पाँच अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको हो ।
प्रकाशित वित्तीय विवरण अनुसार नाफा बढाउने अन्य बैंकहरुमा ग्लोबल आईएमई बैंकको नाफा ३७.१२ प्रतिशतले बढेको छ । त्यस्तै एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ३८.६१ प्रतिशत, प्रभुको ३.५१ प्रतिशत, एनएमबीको ५.८८ प्रतिशतले बढेको हो ।
त्यसैगरी सानिमा बैंकको नाफा १४.८० प्रतिशतले बढेको छ । नेपाल बैंकको २०३२.८० प्रतिशत, लक्ष्मी सनराइज बैंकको नाफा २.२४ प्रतिशत, नेपाल एसबीआई बैंकको नाफा ३.३६ प्रतिशतले बढेको छ भने माछापुच्छ्रे बैंकको नाफा २८.८९ प्रतिशले नाफा बढेको छ ।

नाफा घटेका नौं बैंक
प्रकाशित वित्तीय विवरण अनुसार चालु आवको चैत मसान्तसम्म आई पुग्दा नौं बैंकहरुको नाफामा गिरावट देखिएको छ । जसमा एनआईसी एशिया बैंकको नाफा सबैभन्दा बढी ९१.८१ प्रतिशतले घटेको छ ।
त्यसैगरी कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेको छ । हिमालयन बैंकको ७४.३३ प्रतिशत, सिटिजन बैंकको २०.६० प्रतिशत, कृषि विकास बैंकको १०.१७ प्रतिशत, राष्ट्रिष्य वाणिज्य बैंकको ४९.२९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको ११.२७ प्रतिशत, प्राइमको २२.५६ प्रतिशत र सिद्धार्थ बैंकको नाफा ०.९४ प्रतिशतले घटेको छ ।
Advertisment