काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच वाणिज्य बैंकहलाई नियामकीय कारबाही गरेको छ । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टड बैंकलाई नियामकीय कारबाही गरेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्र बैंकको नियम उल्लंघन गर्ने बैंकका सीईओहरुलाई राष्ट्र बैंकले सचेत गराउनेदेखि नगद जरिवानासम्म गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
बैंकले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन बमोजिम केही कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको जनाइएको छ ।
यसका साथै बैंकले केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडिक्युसी फ्रेमवर्क, २०१५ बमोजिम जोखिम भार गणना नगरेको तथा चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको भन्दै राष्ट्र बैंकले बैंक प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ ।
कुमारी बैंक
बैंकले राष्ट्र बैंकको व्यवस्था बमोजिम सूक्ष्म निगरानी कर्जा तथा खण्ड (ख) बमोजिम निष्कृय कर्जालाई वर्गीकरण नगरेको र न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको भन्दैं राष्ट्र बैंकले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ ।
लक्ष्मी सनराइज बैंक
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र निर्देशनहरुको पालना नगरेकोले नेपाल राष्ट्र बैंकले लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिईएको छ ।
यसका साथै बैंकको सञ्चालक, चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ्ग एजेण्ट वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाकाकुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरिएकोमा उक्त बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्ष रुपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको छ ।
त्यस्तै बैंकले कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरुको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको पाइएको छ ।
बैंकले मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यवसायिक संस्थाहरुलाई समेत बेलोनिङ किस्ता कायम गरी कर्जा अवधिको शुरुका वर्षहरुमा अत्याधिक न्यूनतम तथा अन्तिम वर्षहरुमा अधिकतम साँवा असुलहुने गरी कर्जाको किस्ता कायम गरेको पाइएको छ ।
यसका साथै बैंकले नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरु सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको तथा चालु पुँजी कर्जाका लागि ब्रिज क्याप कर्जा प्रदान गरी लामो समयपश्चात् ब्रिज क्याप कर्जालाई आवधिक कर्जामा परिणत गर्ने गरिएको भन्दै राष्ट्र बैंकले नियमकीय कारबाही गरेको छ ।
लक्ष्मी सनराइज बैंक ले संस्थापक शेयरधनीका लागि ऋण लिने सन्दर्भमा शेयर धितो राख्नु पूर्व यस बैंकको स्वीकृति लिनुपर्नेमा त्यस बैंकको दुई प्रतिशतभन्दा बढि शेयर धारण गर्ने एक संस्थापक शेयरधनीले धारण गरेको बैंकको संस्थापक शेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलिमिटेडबाट कर्जा लिँदा यस बैंकको स्वीकृति नलिई निजको संस्थापक शेयर धितोबन्धक राखेको तथा कर्जा उपयोग गरेको अभिलेख बैंकले नराखेको पाइएपछि राष्ट्र बैंकले कारबाही गरिएको जनाएको छ ।
नेपाल बैंक
नेपाल बैंक लिमिटेड र त्यस बैंकका प्रमुख कार्यकारी अधिकृत बीच भएको सम्झौता अनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको पाइएको छ ।
त्यस्तै बैंकले बजेट तथा कार्यक्रम र रणनीतिक योजना बिच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च ब्यवस्थापन तहमा रहेका कर्मचारीहरु बिच आपसी समन्वय गर्न/गराउन नसकेको पाइएपछि बैंकका सीईओलाई सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ । ।
त्यस्तै नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका तत्कालिन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाईदा हुने क्रियाकलापमा संलग्न रहेको पाइएपछि राष्ट्र बैंकले पाँच लाख नगद जरिवाना गरेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
बैंकले आव २०८१/८२ को पुस मसान्तसम्म तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेपछि राष्ट्र बैंकले १४ करोड ८५ लाख २५ हजार ५६६ दशलमव ८७ रुपैयाँ जरिवाना गरेको छ ।
Advertisment