काठमाडौं : एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले दुईपाँग्रेदेखि सबै खाले चार पाङ्ग्रे गाडीको ब्याट्री नेपालमा नै उत्पादन थालेको छ । यति मात्र होइन कम्पनीले इन्भटरका लागि आवश्यक उच्च क्षमताको गुणस्तरिय ब्याट्री समेत उत्पादन गरिरहेको छ ।
५० करोड लगानीमा प्लान्ट स्थापना गरिएकोमा उक्त प्लान्टबाट चिनियाँ प्रविधिको प्रयोगमार्फत ब्याट्रीको उत्पादन भइरहेको छ । २१ रोपनी क्षेत्रफलमा रहेको उक्त उद्योगमा ७६ जनाले रोजगारी पाएका छन् । उद्योग सञ्चालनका लागि औद्योगिक क्षेत्रसँग ४० वर्षसम्मको सम्झौता गरिएको छ ।
ब्याट्री निर्माणका लागि आवश्यक उपकरणहरु छिमेकी देश चीन, भारत र जापानबाट ल्याउने गरिएको छ । एसटीसी ग्रुपका दुई ब्राण्डहरु एसटीसी राइड र एसटीसी इनर्जी नाम भएका ब्याट्री हाल उद्योगबाट बजारमा गइरहेको छ ।
वार्षिक १८ लाखसम्म ब्याट्री उत्पादन गर्नसक्ने क्षमता भएको यस प्लान्टबाट हाल दुई पाङ्ग्रे सवारी मोटरसाइकल तथा स्कुटरमा लाग्ने ब्याट्री मासिक २५ हजार युनिटका दरले उत्पादन भइरहेकोे छ भने चार पाङ्ग्रे गाडीको पनि राम्रै उत्पादन भइरहेको एसटीसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए ।
उच्च क्षमताको ब्याट्री उत्पादन गरिरहेको कम्पनीले दुई पाङग्रे र चार पाङग्रे गाडीमा प्रयोग हुने ब्याट्रीमा ३६ महिना अर्थात् तीन वर्षको वारेन्टी दिएको छ । तर ईरिक्सामा भने १२ महिना (एक वर्ष) को मात्र वारेन्टी प्रदान गरिएको उप्रेतीले जानकारी दिए ।
कच्चा पदार्थ आयातमा समस्या
एसटीसी इनर्जीका प्रबन्ध निर्देशक उप्रेतीका अनुसार ब्याट्री उत्पादन लागि आवश्यक पर्ने ८० प्रतिशत कच्चा पदार्थहरु नेपालमै उपलब्ध भएपनि २० प्रतिशत बाहिरबाट आयात हुने गरेको छ ।
ब्याट्री प्याक कन्टेनर, एसिड, प्लस र माइनस आपसमा नजोडिने गरी प्याक गर्ने सामान बाहेक अधिकांश कच्चा पदार्थ स्वदेशकै उपयोग गर्ने गरिएको उनले बताए ।
तर, कच्चा पदार्थको आयातका लागि प्रशासनिक केन्द्र, अन्तर निकायबीच आवश्यक समन्वय नहुँदा समस्या हुने गरेको छ । उनका अनुसार एसिड आयातका लागि गृह मन्त्रालयको सिफारिस चाहिन्छ । यसका लागि भन्सार विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि जोडिन्छन् । ‘अन्तर निकायबीच समन्वय नहुँदा कच्चा पदार्थको आयातमा समस्या हुने गरेको छ । केही समय उद्योग नै बन्द गरेर बस्नुपर्ने स्थिति आयो’ उनले भने ।

कच्चा पदार्थका लागि धेरै झन्झटिलो प्रक्रिया रहेको गुनासो गर्दै उनले थपे, ‘हामीले प्रतिवर्ष यती मात्रामा एसिट ल्याउछौँ भनेर अनुमानित विवरण गृह मन्त्रालयलाई पठाँउछौं । काम गर्दै जाँदा थप आयात गर्नुपर्ने अवस्था बन्यो भने निकै अप्ठ्यारो हुने गरेको छ । भन्सार विभाग, उद्योग विभाग, गृह मन्त्रालय धाउँदाधाउँदै केही समय अगाडी २५ दिन जति उद्योग नै बन्द भयो ।’
भारतमा निकासीको अनुमति, नेपालका एसेम्बल उद्योगमा छैन चासो
उत्पादनको छोटो समयमानै एसटीसी इनर्जी ब्याट्रीले भारतबाट गुणस्तरको मापदण्ड समेत प्राप्त गरिसकेको छ । उत्पादनले भारतको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड(बिआइएस) र अटोमोटिभ रिसर्च एसोसिएसन अफ इण्डिया(एआएआई) बाट गुणस्तरको प्रमाणपत्र पाइसकेको हुँदा निकट भविष्यमै भारतमा निर्यात थालिने प्रबन्ध निर्देशक उप्रेतीले बताए ।
उनले भने, ‘निर्यातका लागि भारतले अनुमति दिएको छ तर उनीहरुले तोके अनुसारको गुणस्तरीय मापदण्ड पुरा हुनुपर्छ । हामीले भारतका विभिन्न कम्पनीहरुमा नमुनाका लागि केही ब्याट्रीहरु पठाएका थियौं । नेपालबाट भारतमा निर्यात गर्नका लागि उनीहरुले तोके अनुसारको गुणस्तरीय मापदण्ड पुरा गर्नुपर्छ । सबै देशको नियम फरक छ ।’
उनका अनुसार भारतमा ब्याट्री पठाउँदा त्यहाँको पोलुशन कन्ट्रोल डिपार्टमेन्टमा आफूले पठाउन चाहेको ब्याट्री बराबरको डिपोजिट गर्नुपर्छ । त्यसका लागि एजेन्ट पनि बनाउनुपर्छ । सर्टिफिकेट दिएपछि मात्रै बल्ल निर्यात गर्न पाइन्छ ।
तर भारतले निर्यातको अनुमति दिँदा पनि यता आफ्नै देशमा स्थापना भएका गाडी एसेम्बल उद्योगले भने हालसम्म स्वदेशमानै उत्पादित ब्याट्रीको प्रयोगमा चासो नदेखाएको उनले गुनासो गरे ।

‘अहिले नेपालमा पनि एसेम्बल उद्योग खुलेका छन् । दुइ पाङ्ग्रेका धेरै ब्राण्ड नेपालमै एसेम्बल हुन्छन् । तर, ति कम्पनीहरुले आफूले एसेम्बल गर्ने सवारी साधनमा नेपालमै उत्पादन भएको ब्याट्री भने प्रयोग गरेका छैनन्’, उनले भने, ‘नेपालमा खुलेका एसेम्बल उद्योगहरूले अहिलेसम्म पनि भ्यालु एड गर्न सकिरहेका छैनन् । उनीहरू सरकारबाट पाउने सुविधा उपभोग गर्छन् । तर, भ्यालु एडमा मौन छन् । नेपालमै ब्याट्री उत्पादन भएर भारत निर्यात सुरू भइसक्दा पनि यही उत्पादन भएको ब्याट्री प्रयोग गर्न कसैले चासो देखाएका छैनन् ।’
यहाँको उत्पादनले नेपाली बजारको मागलाई धान्ने समेत उनले बताए । उनले भने, ‘बजारको समस्या छैन । यहाँको मार्केट हिस्सा वार्षिक २५ सय करोडको आउँछ । महिनामा एक अर्बको माग हो । ब्याट्रीको रि साइकल हुँदैन । तर, लिडलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ । यस कारण ब्याट्री उद्योगका लागि नेपाल उपयोगी छ ।’
आईपीओ जारी गर्नेसम्मका योजना
उनका अनुसार अहिले आयातित ब्याट्रीको तुलनामा एसटीसीले नेपालमै बनाएका ब्याट्रीको मूल्य ४० देखि ६० प्रतिशतसम्म सस्तो रहेको छ । यसका साथै नयाँ प्रविधिमा आधारित नयाँ ब्याट्री समेत उत्पादन गर्ने लक्ष्यका साथ कम्पनीले आवश्यक स्पेशको व्यवस्था गरेको छ ।
विभिन्न प्रकारका सवारीसाधनका लागि अत्यावश्यक मानिने ब्याट्रीको प्रविधिमा नयाँ नयाँ प्रयोग हुँदै आएकाले सोही अनुरुप उद्योगलाई परिमार्जन गर्दै लाने कम्पनीको तयारी रहेको हो ।
उनले भने, ‘४० देखि ६० प्रतिशत सस्तो एमआरपीसहित एउटै उद्योगले बजार धानेकोले शाखा विस्तारको योजना बजारको माग अनुसार एक वर्ष भित्र बन्छ ।’
एससिटी इनर्जीले निकट भविष्यमा लिथियम आयोन ब्याट्री समेत उत्पादन गर्ने योजना बनाएको छ । उद्योगबाट हाल लेड एसिड ब्याट्री मात्र उत्पादन भइरहेको छ । यसैका लागि कम्पनीले आवश्यक स्पेशको प्रबन्ध गरेको हो ।

उद्योगले हाल अटोमोटिभ, ई–रिक्सा र इन्भर्टर ब्याट्री समेत बजारमा ल्याइसकेको छ । साथै, निकट भविष्यमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने र उद्योगको स्वमित्व सर्बसाधारणसम्म पुर्याउने योजना समेत रहेको प्रबन्ध निर्देशक उपे्रतीले बताए ।
Advertisment