काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा चालु खाता २१० अर्ब रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
यस अवधिमा चालु खाता रु.२१० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा रहेको छ ।
यस समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब ७८ करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.६ अर्ब ४९ करोड रहेको थियो ।
चैत मसान्तसम्म शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको छ ।
Advertisment