काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट १७१ खर्ब बढी तरलता उठाएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न चैत मसान्तसम्म १७१८६ अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो ।
निक्षेप संकलन बोलकबोलमार्फत २२ खर्ब १२ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत १४९ खर्ब ७४ अर्ब १० करोड गरी कुल १७१८६ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ भने २ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद ७ खर्ब ६६ अर्ब १९ करोड तरलता प्रशोचन गरिएको थियो ।
यस अवधिमा बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ६३ करोड खुद खरिद गरी ४८४ अर्ब ७१ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब २६ करोड खुद खरिद गरी रु.५६६ अर्ब ५५ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ८४ करोड बिक्री गरी रु.३८६ अर्ब ८१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ७६ करोड बिक्री गरी रु.३६६ अर्ब ९९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
Advertisment