काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा आइपुग्दा बीमा कम्पनीहरुको नाफा झण्डै २५ प्रतिशतले घटेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बीमा कम्पनीहरुको नाफा सात अर्ब २९ करोड ७६ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.४५ प्रतिशत अर्थात २ अर्ब ३६ करोड ६ लाख रुपैयाँले कम हो । गत वर्ष निर्जीवन र जीवन बीमा कम्पनीहरुले ९ अर्ब ६५ करोड ८२ लाख ८७ हजार रुपैयाँ नाफा कमाएका थिए ।
बैंकहरुको घट्दो ब्याजदर, हुलदंगा र बाढी पहिरो लगायतका विपद्का घटनाले बीमा क्षेत्रमा प्रत्यक्ष असर परेको छ । फलस्वरुप बीमा कम्पनीहरुको नाफा घट्न पुगेको हो ।
गत असोज १० र १२ गते आएको बाढी पहिरो र गत चैत १५ गते काठमाडौं उपत्यकामा भएको हुलदंगाले गर्दा ठूलो मात्रामा क्षति भएको थियो । बाढीका कारण निर्जीवन बीमा कम्पनीहरुमा साढे १२ अर्ब रुपैयाँ बराबरको दाबी परेको भने हुलदंगाका कारण ४ करोड ५९ लाख ६२ हजार रुपैयाँ बराबरको दाबी परेको छ । तथापी जीवन बीमा कम्पनीहरुको नाफा भने बढ्दो रहेको छ ।
नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार बाढीका कारण निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ बराबरको तीन हजार ७२८ वटा दावी परेको थियो । जसमा तीन अर्ब ५ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ भने नौ अर्ब ५ करोड १० लाख रुपैयाँ बराबरको एक हजार २८९ वटा दावीको भुक्तानी हुन बाँकी छ ।
बाढी पहिरो लगायतका विपद्ले दाबी भुक्तानी बढ्दा कम्पनीहरुको नाफा खुम्चिएको नेपाल बीमा प्राधिकरणको भनाई छ । यसका साथै उनले बैंकहरुको ब्याजदर घटेको कारण पनि नाफामा असर परेको जनाइएको छ ।
जीवन बीमा कम्पनीको नाफा ११ प्रतिशतले बढ्यो
प्रकाशित वित्तीय विवरण अनुसार चैच मसान्तसम्म आइपुग्दा जीवन बीमा कम्पनीको नाफा चार अर्ब ८८ करोड ७३ लाख २० हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११.९३ प्रतिशतले बढी हो ।
यस अवधिमा १२ कम्पनीहरुको नाफा बढेको छ भने दुई कम्पनीको नाफा घटेको छ । नाफा घट्नेमा सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा राष्ट्रिय बीमा कम्पनीको नाफा ३७.१० प्रतिशतले घटेको छ । गत वर्ष दुई करोड ४५ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको यस अवधिमा आइपुग्दा एक करोड ५४ लाख रुपैयाँ नाफा कमाएको हो ।
त्यस्तै गत वर्षको सोही अवधिमा सन नेपाल लाइफको नाफा ४९ करोड ३६ लाख रुपैयाँ रहेको थियो । उक्त नाफा चालु आवको सोही अवधिमा आइपुग्दा ३३.३६ प्रतिशतले घटेर ३२ करोड ८९ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै यस अवधिमा सबैभन्दा बढी नाफा बढाउनेमा एसियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा ५९.५१ प्रतिशतले बढेर ३३ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफको ३६.८८ प्रतिशत, सिटिजन लाइफको नाफा २७.१४ प्रतिशत, मेट लाइफको २७.६१ प्रतिशत र आईएमई लाइफ इन्स्योरेन्सको नाफा १०.४९ प्रतिशतले बढेको छ ।

निर्जीवन बीमा कम्पनीको नाफामा ५४ प्रतिशत घट्यो
यता निर्जीवन बीमा कम्पनीको नाफा भने ५४.४५ प्रतिशतले घटेको छ । गत वर्षको चैत मसान्तसम्म कम्पनीहरुको नाफा ५ अर्ब २९ करोड २० लाख रुपैयाँ रहेको थियो भने उक्त नाफा चालु आवको सोही अवधिमा आइपुग्दा घटेर दुई अर्ब ४१ करोड ३ लाख ४६ हजार रुपैयाँमा झरेको छ ।
यस अवधिमा आएपुग्दा १२ कम्पनीको नाफा घटेको छ भने नाफा बढाउनेमा दुई कम्पनी रहेका छन् । चैत मसान्तसम्म आइपुग्दा शिखर इन्स्योरेन्सको १.७९ प्रतिशत र सानिमा जिआईसीको नाफा १६.२१ प्रतिशतले बढेको छ ।
यस अवधिमा सबैभन्दा बढी नाफा घट्नेमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको नाफा ५७.६५ प्रतिशतले घटेको हो । त्यस्तै सरकारी बीमा कम्पनी नेपाल इन्स्योरेन्सको नाफा ३९.४४ प्रतिशतले घटेको हो ।
त्यस्तै सगरमाथा लुम्बिनी (सलिको) को नाफा ४७ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४५.२० प्रतिशतले घटेको छ ।
त्यसैगरी गत वर्षको सोही अवधिमा ४६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको ओरियन्टल इन्स्योरेन्स १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको छ । प्रकाशित विवरण अनुसार गत वर्ष १४ करोड १० लाख नाफा कमाएको नेशनल इन्स्योरेन्सको नोक्सानी बढेर ७२ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

Advertisment