Below Menu
Below Menu

सुधारिँदै लघुवित्त: खराब कर्जाको बाबजुद नौ महिनामा साढे चार अर्ब नाफा !

सुधारिँदै लघुवित्त: खराब कर्जाको बाबजुद नौ महिनामा साढे चार अर्ब नाफा !

काठमाडौं : पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ । 

लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक गतिविधि गर्ने कर्मचारीलाई अभद्र व्यवहार गर्ने लगायतका कारणहरुले पनि कर्जा असुलीमा समस्या आएको थियो । तर, चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको तथ्यांक हेर्दा लघुवित्तको नाफामा ३०.८२ वृद्धि देखिएको छ ।

यस अवधिमा लघुवित्तहरुले चार अर्ब ६५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ३०.८२ प्रतिशतले बढी हो । गत वर्षको नौं महिनामा संस्थाहरुको नाफा तीन अर्ब ५५ करोड ८८ लाख रुपैयाँ रहेको थियो । 

प्रकाशित वित्तीय रिर्पोट अनुसार यस अवधिमा आइपुग्दा ३१ कम्पनीको नाफा बढेको छ । साथै १० कम्पनीको नाफा घटेको छ भने अन्य कम्पनीहरु घाटामा छन् । गत वर्ष नोक्सानीमा रहेका कतिपय कम्पनीहरुले पनि नोक्सानी घटाएका छन् । 

चैत मसान्तसम्म आइपुग्दा अधिकांश लघुवित्तहरुको नाफा बढेको छ । सबैभन्दा बढी नाफा बढाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा एक हजार ८८४.२९ प्रतिशतले बढेको हो । 

गत वर्षको सोही अवधिमा १८ लाख एक हजार रुपैयाँ नाफा कमाएको संस्थाले चालु आवको सोही अवधिमा आइपुग्दा तीन करोड ५७ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । संस्थाको खुद ब्याज आम्दानी पनि ९७.५२ प्रतिशतले बढेको छ ।

पछिल्लो समय अहिले लघुवित्त प्रति आम नागरिकको बुझाई फेरिएको छ । अहिले ऋण नतिर्ने र कर्मचारीहरुमाथि आक्रमण गर्ने वातावरण छैन । कम्पनीहरुले विभिन्न मोटिभेसनल तालिमहरु दिएर सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । जसले गर्दा ऋण तिर्नेहरु पनि बढिरहेका छन् । 

कम्पनीहरुले नयाँ रणनीतिका साथ कार्यक्रम र योजनाहरु अघि बढाएका छन् जसले गर्दा संस्थाको वित्तीय अवस्थामा ग्रोथ आएको छ । यसका साथै नेपाल राष्ट्र बैंकको साथले पनि लघुवित्तको वित्तीय अवस्था सुधार आएको छ । 

नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै लघुवित्त संस्थाहरुलाई कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गर्यो । उक्त सर्कुलरमार्फत  लघुवित्तबाट लिएको ऋण र्तिन नसकेका ग्राहकलाई ऋण भुक्तान अवधि ३ वर्ष थप गरी कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले कर्जा पुनर्संरचनाको सुविधा दिएका कारण अहिले केही संस्थाको खराब कर्जा घटे पनि गत वर्षको तुलनामा भने समग्रमा संस्थाहरुको खराब कर्जा १६.९२ प्रतिशतले बढेको छ । साथै बैंकहरुको घट्दो ब्याजदरले पनि वेशरेट कम हुँदा ऋणको कस्ट अफ पनि कम हुँदै गएको छ जसले संस्थाको ब्यालेन्स सिटमा सुधार आएको हो ।

ब्याज आम्दानी २० प्रतिशतले बढ्यो

चैत मसान्तसम्म आइपुग्दा संस्थाहरुको खुद ब्याज आम्दानी २०.४२ प्रतिशतले बढेको छ । गत वर्ष १७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेका कम्पनीहरुको यस वर्षको यस्तो आम्दानी २१ अर्ब २७ करोड ७२ लाख रुपैयाँ रहेको छ । 

यस अवधिमा आइपुग्दा अधिकांश कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने सात कम्पनीको ब्याज आम्दानी घटेको छ । खुद ब्याज आम्दानी घटेका संस्थाहरुमा निर्धन उत्थान लघुवित्त, मातृभूमि, साना किसान विकास, समाज लघुत्ति, एनआईसी एशिया, आरएसडीसी र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।  

प्रकाशित विवरण अनुसार स्वस्तिक लघुवित्तको ब्याज आम्दानी सबैभन्दा बढी ५३७.७१ प्रतिशतले बढेको छ । त्यस्तै महिला लघुवित्तको १६०.४७ प्रतिशत, वीन नेपाल लघुवित्तको १४४.०९ प्रतिशत र धौलागिरी लघुवित्तको ब्याज आम्दानी १४७.११ प्रतिशतले बढेको छ ।

१५ कम्पनीले घटाए खराब कर्जा 

चालु आवको चैत मसान्तसम्म आइपुग्दा सूचीकृत १५ कम्पनीहरुको खराब कर्जा घटेको छ । गत आवको सोही अवधिमा औषत ६.२१ प्रतिशत रहेको संस्थाहरुको खराब कर्जा १६.९२ प्रतिशतले बढेर औषत ७.२६ प्रतिशतमा झरेको छ ।
यस अवधिमा आइपुग्दा कम्पनीहरुको कर्जा असुलीमा पनि सामान्य सुधार भएको देखिन्छ । गत आवको सोही अवधिमा १०.३१ प्रतिशत रहेको जन उत्थान सामुदायिक लघुवित्तको खराब कर्जा घटेर ६.५२ प्रतिशतमा झरेको छ । 

त्यस्तै सबैभन्दा धेरै खराब कर्जा घटाउने अन्य संस्थामा फरवार्ड माइक्रो फाइनान्स सम्पदा लघुवित्त, महिला लघुवित्त, निर्धन उत्थान, नेशननल, स्वरोजगार लघुवित्त, मानुषी, सूर्योदय वोमी, छिमेक, एनएमबी, आरम्भ चौतारी, स्वाबलम्बन, ग्रामिण विकास,  र समाज लघुवित्त वित्तीय संस्था रहेका छन् । 

यस अवधिमा नाडेप लघुवित्तको खराब कर्जा सबैभन्दा बढी २२.१४ प्रतिशत पुगेको छ । त्यस्तै। नेष्डो समृद्ध लघुवित्तको २०.९० प्रतिशत, नेरुडे मिर्मिरेको १४.८१ प्रतिशत र  युनिक नेपाल लघुवित्तको खराब कर्जा १५.५२ प्रतिशत, पुगेको छ । 

प्रकाशित रिर्पोट अनुसार एनआईसी एशिया लघुवित्तको खराब कर्जा १३.५५ प्रतिशत, इन्फिनिटी लघुवित्तको एनपीएल १४.३५ प्रतिशत र आत्मनिर्भरको खराब कर्जा १५.०९ प्रतिशत पुगेको छ । 

यस अवधिमा आइपुग्दा चार कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ । इपीएस ऋणात्मक रहेका कम्पनीहरुमा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध, जनउत्थान सामुदायिक लघुवित्त र मातृभूमि लघुवित्त वित्तीय संस्था रहेका छन् । 

Advertisment

थप समाचार