काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नं ८ पाँगा साथिक स्थित झीगु तिबः बचत तथा ऋण सहरकारी संस्थामा करौडौं रकम अपचलन भएको पाइएको छ । सहकारी ठगीका मुख्य योजनाकार संस्थाका पूर्व अध्यक्ष श्रीकृष्ण महर्जनसहितको संलग्नतामा करोडौं रकम अपचलन भएको खुलेको हो ।
पारिवारिक सदस्यहरुबाट सञ्चालित सहकारीको रकम अपचलनमा संस्थाका निवर्तमान अध्यक्ष नन्द बहादुर महर्जन र पूर्व अध्यक्ष श्रीकृष्ण महर्जनको प्रत्यक्ष संलग्नतामा किर्ते (राजकाजी महर्जन नामको नकल्ली खाता) खडा गरी रकम हिनामिना गरेको पाइएको हो । पूर्व अध्यक्ष श्रीकृष्ण महर्जन र निर्वतमान अध्यक्ष नन्द बहादुर महर्जन नाताले सम्धी–सम्धी हुन् ।
बचतकर्ताहरुको पासबुक समेत कुम्ल्याई विगत एक वर्षदेखि संस्था बन्द गरेर सञ्चालकहरु फरार रहेका छन् भने निवर्तमान अध्यक्ष करिब ४५ दिनदेखि अष्ट्रेलियामा रहेको स्रोतले जनाएको छ ।
सहकारी ठगीमा पूर्वअध्यक्ष श्रीकृष्ण महर्जनको बुहारी तथा नन्द बहादुर महर्जनको छोरी रहेकी संस्थाकी प्रबन्धक सृष्टि महर्जनले पनि (किर्ते नाम जुना महर्जन) राखी) ५ वटा खाता सञ्चालन गरी करोडौं रकम अपचलन गरेको स्रोतको दाबी छ ।
संस्थाको विधान अनुसार सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहेको छ । २०८० माघमा नयाँ कार्यसमिति आएपछि संस्थामा रकम अपचलन भएको तथ्य बाहिरिएको हो । स्रोतका अनुसार पूर्वअध्यक्षद्धय महर्जन मिलेर संस्थाको करिब १२ करोड रुपैयाँ अपचलन भएको छ ।
यहीँ दुई कार्यकालमा संस्थाबाट ९ करोड ६६ लाख रुपैयाँ ऋण प्रवाह गरिएको छ । सोमध्ये ५ करोड लगानी फेक रहेको स्रोतको दाबी छ । ‘बाँकी २ करोड ९३ लाख रुपैयाँ नगद रकम हुनु पर्नेमा उक्त रकम हिसाबमा देखिएन । जसले गर्दा ८ करोड रुपैयाँ रकम हिनामिना भएको प्रष्ट देखिन्छ’ स्रोतले भन्यो ।
सहकारी बन्द भएको एक वर्ष भयो । रकम हिनामिना पहिलेदेखि नै हुँदै आएको तथ्यले पुष्टि गर्छ । चार वर्षको कार्यकाल सकिएपछि नयाँ कार्यसमिति आयो । नयाँ समिति आउँदा संस्थामा रकम निल (शुन्य) भएको स्रोतको भनाइ छ ।
साधारणसभामा प्रतिवदेननै नक्कली पेश गरिएको स्रोतको दाबी छ । उनले भने, ‘नयाँ कार्यसमितिलाई प्रदान गरिएको प्रतिवेदन नक्कली हो । सक्कली प्रतिवेदन लुकाईएको छ । मैलेनै पुनः एक पटक आन्तरिक लेखापरीक्षण गर्न वर्तमान कार्यसमितिलाई सुझाव दिँए ।’


उनका अनुसार संस्थाको प्रतिवेदनलाई लिएर संस्थामा वादविवादले उग्र रुप लिएपछि नयाँ कार्यसमितिले पुनः आन्तरिक लेखापरीक्षण गर्ने निर्णय गर्यो । २१ महिनाको लेखापरीक्षण गर्दा ३ करोड ६१ लाख रुपैयाँ बेरुजु देखियो । तर, बचत रकम हिनामिनामा संलग्न सञ्चालकहरुले उक्त बेरुजुलाई स्वीकार गरेनन् ।
‘हामी यो बेरुजु मान्दैनौं, भनेपछि फेरी मैलै नगरपालिकामा उजुरी दिए । उजुरी दिएपछि नगरपालिकामा छानबिनका लागि एउटा समिति बन्यो । छानबिनका लागि ८ महिना लाग्यो । तथापि, छानबिनबाट आएको प्रतिवेदन पनि त्रुटिपूर्ण आयो । विपक्षहरुलाई छुटकारा दिने प्रतिवेदन आयो । हराएको रकम शोधभर्ना पाउँ भन्ने माग राख्दा उल्टै नगरपालिका र सञ्चालकहरुको मिलेमतो पाइयो’ स्रोतको आरोप छ ।




ठगीको श्रृङ्खला
स्रोतका अनुसार पूर्व उपाध्यक्ष डा.ईश्वरलाल महर्जनले आफ्नै कार्यकालमा कसैले थाहा नपाउने गरी २०७२ सालदेखि २८ लाख रुपैयाँ ६ प्रतिशत ब्याजदरमा र पत्नी कमलादेवि महर्जनको नामले २०७४ सालमा ७ प्रतिशत ब्याजदरमा ३५ लाख रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
संस्थाको आन्तरिक लेखापरीक्षणमा निवर्तमान अध्यक्ष नन्द बहादुर महर्जनले कीर्तेनाम राजकाजी महर्जन गरी करोडौ रकम अपचलन गरेको उल्ल्लेख छ । साथै निर्तमान अध्यक्ष नन्दबहादुर महर्जनकै छोरी सृष्टी महर्जनले कीर्ते नाम जूना महर्जन राखी ५ वटा खाता (खाता नं ३००१२, ३०१४५, ३०१८७, ३०२०९ र ३०२२६) संचालन गरी रकम हिनामिना गरेको प्रमाण भेटिएको छ ।


यसका साथै विभिन्न समयमा निःशुल्क ब्याजमा रकम चलाएको, आफ्ना मान्छेहरुलाई बचतमा ब्याजदर बढी र कर्जामा कम ब्याजदरमा कर्जा प्रवाह गरेको थाहा नभएको निरीह सोझा बचतकर्ताहरुलाई २४ प्रतिशतसम्मको ब्याजदरमा ऋण प्रवाह गरी ब्याज असुलेको भेटिएको छ ।

निवर्तमान अध्यक्ष नन्दबहादुर महर्जन र छोरी प्रबन्धक सृष्टी महर्जनले संयुक्त खाताको रकमलाई पनि एक्ला एक्लैले रकम झिकी अपलचन गरेको, संस्थामा सेवामा नै नरहेको फण्ड ट्रान्फर कसैलाई थाहा नदिई फण्ड ट्रान्फर गरी रकम अपचलन गरेको र पूर्व उपाध्यक्ष डा.ईश्वरलाल महर्जनले कसैलाई थाहा नदिई ६ प्रतिशत ब्याजदरमा २८ लाख रकम चलाएकोमा समेत सोको हालसम्म साँवा फिर्ता नभएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारी ठगीमा नगरपालिकाकै सहजीकरण
सहकारीको ऐन बमोजिम आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न हुनु पर्ने कानुनी व्यवस्था छ । तर तोकिएको समय सीमाभित्र साधारण सभा गर्न नसकेको यस सहकारीलाई कीर्तिपुर नगरपालिकाले २०८० साल माघको ३० गते वार्षिक साधारण सभा गर्न अनुमति प्रदान गरेको देखिन्छ । अझ नगरपालिकाले संस्थाको कर चुक्ता प्रमाणपत्र नपाउँदै वार्षिक साधारण सभाको निर्णय सदर गरेको आरोप लागेको छ ।
‘संस्थामा वित्तीय रकम हिनामिना/अपचलन भएको भनी सचिवले वर्षौदेखि प्रतिवाद गर्दागर्दै आएका छन् । र पनि कार्यकालको अन्तिम वर्षको वार्षिक साधारण सभाको प्रतिवेदनमा सचिवको दस्तखत विना सहकारी शाखा कीर्तिपुर नगरपालिकाले सदर गरेको छ’ स्रोतले भन्यो ।
कीर्तिपुर नगरपालिकाको सहकारी शाखाबाट भएको छानवीन प्रतिवेदन हिनामिना र अपचलन गर्ने दोषीहरुलाई बचाऊ गर्ने तरिकाले कसैले पनि नबुझिने गरी गोलमोल हुने गरी मिलोमतो र स्थार्थ प्रेरित भएर प्रतिवेदन प्रकाशित गरिएको आरोप लगाएको छ ।
२०८१ साल माघ १० गते निवर्तमान संचालक समितिका ९ जना पदाधिकारीहरुले दिइएको लिखित बयान नगरपालिकाकै भवनमा सहकारी शाखाको प्रमुख, अडिटर, अधिवक्ताको रोहवरमा तत्काल दिइएको बयानमा सबै जनाले हिनामिना अपचलन भएको भनि लिखित बयान दिएका छन् ।
९ जना पदाधिकारीहरुले दिएको बयानलाई केही मूल्यांकन नगरी दोषिलाई त्यसै छोडेको स्रोतको दाबी छ ।
‘साधारणसभा गर्ने, वित्तीय प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पास गर्ने सम्बन्धित संस्थाको साधारण सभाले हो । साधारणसभा पुस मसान्तभित्र गर्नुपर्छ । उहाँहरुको केही प्राविधिक समस्या भएकाले केहीँ ढिलो भएको देखिन्छ । फेरि, सभामा पेश गर्ने रिपोर्टहरु साधारणसभाले नै पास गर्ने हो, नगरपालिकाले होइन । हामीले प्रतिवेदनको रेकर्ड मात्र राख्ने हो’ नगरपालिकाका सहकारी शाखा प्रमुख सुजिन्द्र महर्जनले भने ।
सहकारीले जस्तो प्रतिवेदन बुझाउँछन् त्यही राख्ने बताउँदै महर्जनले भने, ‘हामीले सचिवको सही नगराएपनि हुन्छ भनेर प्रतिवेदन लिएको होइन । एक जनाको सही छुट्दैमा प्रतिवेदन अपुरो भन्ने हुँदैन ।’
बरु समयमा साधारणसभा नसकेका संस्थाहरुलाई एक हजार रुपैयाँ जरिवाना गर्ने नियम भएकोमा उक्त संस्थालाई जरिवाना नगरिएको हुन सक्ने उनले बताए ।
Advertisment