Below Menu
Below Menu

जीवन बीमा कम्पनीको व्यापार १५ प्रतिशतले बढ्यो, साढे एक खर्ब बीमाशुल्क संकलन  

जीवन बीमा कम्पनीको व्यापार १५ प्रतिशतले बढ्यो, साढे एक खर्ब बीमाशुल्क संकलन  

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा कम्पनीहरुले लघुबीमा समेत गरी झण्डै साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बैंशाख मसान्तसम्म कम्पनीहरुले एक खर्ब ४० अर्ब ३५ करोड दुई लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड ५३ लाख ६ हजार ९९३ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् । 

उक्त रकम गत आवको सोही अवधिको तुलनामा १५.५५ प्रतिशत अर्थात १८ अर्ब ८८ करोड ८८ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले एक करोड ३९ लाख ५५ हजार ८८७ बीमालेख बिक्री गरी एक खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए ।

गत चैतको तुलनामा बैशाखमा कम्पनीहरुले १३ अर्ब ३१ करोड ३३ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । गत बैशाखमा मात्र कम्पनीहरुले १२ लाख ३४ हजार ८८७ बीमालेख जारी उक्त रकम बराबरको बीमाशुल्क कमाएका छन् । 

यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार १० महिनामा कम्पनीले २० लाख ३५ हजार तीन बीमालेख बिक्री गरी ३६ अर्ब ५९ करोड दुई लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ६५ हजार ८५१ बीमालेख जारी गरी आठ अर्ब ६७ करोड १५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

त्यस्तै नेशनल लाइफले १७ अर्ब २० करोड १४ लाख सात हजार रुपैयाँको व्यापार गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १५ अर्ब ५७ करोड ४७ लाख सात हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यसैगरी यस अवधिमा मेट लाइफले चार अर्ब ९८ करोड ७० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै एशियन लाइफले सात अर्ब १४ करोड ६ लाख र आईएमई लाइफले चार अर्ब १९ करोड ९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा आइपुग्दा सन नेपाल लाइफले तीन अर्ब ४१ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने रिलायबल नेपाल लाइफले चार अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले पाँच अर्ब ६८ करोड ५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै सूर्यज्योति लाइफले आठ अर्ब ५३ करोडको तीन लाख र सानिमा रिलायन्स लाइफले पाँच अर्ब ३३ करोड ७८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । 

प्राधिकरणका अनुसार चालु आवको बैशाख मसान्तसम्म हिमालयन लाइफले १३ अर्ब ७९ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ भने प्रभु महालक्ष्मी लाइफले चार अर्ब १० करोड २१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

लघुबीमाको व्यापार ९८ करोडमाथि  

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । बैशाख मसान्तसम्म कम्पनीहरुले १५ लाख ७८ हजार ६५१ बीमालेख जारी गरी ९८ करोड २६ लाख १० हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले ३७ करोड ३६ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ३६ करोड २३ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २४ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार