काठमाडौं : नेपाल धितोपत्र बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बनेको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । उक्त प्रतिवेदनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनुपर्ने सुझावसहित रहेको छ।
सोही बैठकमा नयाँ कम्पनीलाई लाइसेन्स दिनुपर्नेबारे एजेन्डा राखिएको भएपनि यस बारे भने कुनै निर्णय भएको छैन । लाइसेन्स दिने विषयमा निर्णय गर्न बसेको समितिको बैठक निष्कर्षविनै टुंगिएको भएपनि उक्त सुझावसहितको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको बोर्डले जनाएको छ।
शिवाकोटी संयोजकत्वमा बनेको समितिले एक्सचेन्जको लाइसेन्स दिनुपर्ने, नेपाल स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी बनाउन वैदेशिक साझेदार भित्राउउनुपर्ने र नेप्सेको पुनर्संरचना गर्नुपर्ने लगायतको सुझाव सरकारलाई दिएको थियो । उक्त प्रतिवेदनमा पुँजी बजार निरन्तर वृद्धि भइरहेको र बढिरहेको बजारमा नयाँ प्रतिस्पर्धी कम्पनी ल्याउँदा नै उपयुक्त हुने उल्लेख छ।
बोर्डको निर्णयले सेयर बजारका लगानीकर्तामा उत्साह देखिएको छ । नयाँ कम्पनीको आगमनले बजारमा विविधता र प्रतिस्पर्धा बढाउनुका साथै दीर्घकालीन लगानीका लागि सकारात्मक संकेत दिने भएका कारण लगानीकर्ताहरु उत्साहित भएका हुन् । नयाँ स्टकले बजारमा प्रतिस्पर्धा र सक्रियता बढाउँछ बढाउने छ जसले बजारलाई स्वस्थ र दिगो बनाउने लगानीकर्ताको बुझाई छ।
बोर्ड स्रोतका अनुसार आगामी सोमबार–मंगलबारसम्म प्रतिवेदन सार्वजनिक हुने र प्रतिवेदन सार्वजनिक पछि पब्लिक धारणा बुझ्न सहज हुनेछ।
लगानीकर्ताले लामो समयदेखिको नयाँ स्टक एक्सचेन्जको माग गर्दै आएका थिए । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्नुपर्ने कारण नदेखिएको समेत फैसला गरिसकेको छ ।
सरकारले गठन गरेको समितिले स्टक एक्सचेन्जको लाइसेन्स दिनुपर्ने सुझाव, सर्वोच्च अदालतले समेत २ पटकसम्म बाटो खुला गरिसकेको अवस्थामा नयाँ कम्पनीलाई अड्काउनु गलत भएको एक लगानीकर्ताले बताए।
Advertisment