Below Menu
Below Menu

प्रधानमन्त्रीको एक हप्ता: चित्रकलामा रमाइलो, संसदमा सन्नाटा

प्रधानमन्त्रीको एक हप्ता: चित्रकलामा रमाइलो, संसदमा सन्नाटा

काठमाडौं : नेपाल अहिले गम्भीर राजनीतिक अस्थिरताको दोभानमा उभिएको छ। गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा प्रतिपक्षले सदन अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने ‘आत्मरतीपूर्ण’ गतिविधिमा व्यस्त छन् । संसदको गतिरोध हटाउन उनी असफल जस्तै बनिरहेका छन्। प्रधानमन्त्री ओलीले हप्ता दिनभित्र संसद चलाउने आश्वासन दिएका थिए । उनले प्रतिपक्षसँग संवादको प्रयत्न गरेको भन्दै आफूलाई संवादप्रति प्रतिबद्ध देखाउने प्रयास गरे।

तर यथार्थमा, उनले प्रतिपक्षसँग गहिरो राजनीतिक सहकार्यको वातावरण बनाउन सक्ने नेतृत्व क्षमता देखाउन सकेनन् । माओवादी केन्द्रका अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्पर्कमा नआएको भन्दै गुनासो गरिरहेका छन् ।

ओलीको अभिव्यक्ति, ‘गृहमन्त्रीमाथि कुनै छानबिन छैन, त्यसैले राजीनामा माग अनुचित हो,’ भन्ने जस्तो बचाउपूर्ण भनाइ, सत्ता दुरुपयोगको गन्ध दिन्छ । एउटा मन्त्रीमाथि जनचासो बढ्दो छ, संसद ठप्प छ । तर प्रधानमन्त्री भने चित्रकला प्रदर्शनी र मन्च केन्द्रीत मन्तव्यमा दौडधुप गरिरहेका छन् ।

जेठ २० गते प्रधानमन्त्री चित्रकला प्रदर्शनीमा रमाइरहँदा संसद अघिल्तिर ‘धुलो’ उडिरहेको थियो । नारच्याङमा हिमाल आरोहणको महोत्सवको ‘हीरक उत्सव’ मनाउने बेला प्रतिपक्षले गणतान्त्रिक व्यवस्था र जवाफदेहिता माग्दै संसदको मूल ढोका घेरेका थिए । 

उता, संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुसँगको छलफल र नवप्रवर्तकहरुसँगको अन्तरक्रियालाई उनले उद्यमशीलताको महिमामण्डनमा प्रयोग गरे । तर प्रश्न यत्ति हो – जब सदन ठप्प छ, विधिको शासन संकटमा छ, तब नवप्रवर्तन र रोजगारीको कुरा कत्तिको यथार्थपरक छ ?

ओली नेतृत्वले पछिल्लो हप्ता जनताप्रति उत्तरदायी शासन होइन, भाषणप्रधान सत्ता सञ्चालन गरेको आरोप लागिरहेको छ । संवादमा विफल, सदन सञ्चालनमा असफल र सार्वजनिक असन्तोषप्रति गम्भीर नभएको ओली सरकार लोकतान्त्रिक उत्तरदायित्वबाट टाढा पुग्दै गएको आरोप पनि खोपिरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले यो हप्ता जेठको १९ गते एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्न  बानेश्वर पुगे । जहाँ उनले  गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताए ।

ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताए तर  अहिलेसम्म संसद सुचारु हुन सकेको छैन ।  ‘भोलिदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनु भएन । वार्ता संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला । यस्तो व्यवहार सँधै चल्दैन । संसद यस्ता नचाइने कुरामा सँधै बन्द हुँदैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । माननीयज्यूहरु तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’

यसैगरी जेठ २० गते ओलीले चित्रकला प्रदर्शनी अवलोकन गरे । ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपाल ः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको अवलोकन गरेका थिए ।

जेठ २० गते  नै  अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा सहभागि हुन पुगे  । जहाँ उनले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताए । 

‘हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘अन्नपूूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ ।’

Advertisment

थप समाचार