काठमाडौं : गण्डकी प्रदेशमा १४ हजार मेगावाट बढी जलविद्युतको उत्पादन सम्भावना रहेको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको अर्धवार्षिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अध्ययन, २०११ अनुसार नेपालको अनुमानित जलविद्युत क्षमता ८३ हजार मेगावाट रहेको छ ।
आर्थिक रुपमा सम्भाव्य रहेको ४५ हजार ६१० मेगावट मध्ये गण्डकी प्रदेशमा १४ हजार ९८१ मे.वा. जलविद्युतको उत्पादन सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । विद्युत विकास विभागको तथ्याड्ढ अनुसार हाल गण्डकी प्रदेशमा ९७९.१३ मे.वा. क्षमताका ५२ वटा आयोजना सञ्चालनमा रहेका छन्। त्यस्तै, ३०८५.३४ मे.वा. क्षमताका ८६ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।
राष्ट्रिय गौरवका आयोजनाको प्रगति
कालीगण्डकी करिडोर
कुल ४९५ कि.मी. लम्बाई भएको उत्तर–दक्षिण (कालीगण्डकी करिडोर ) लोकमार्गलाई मालढुङ्गा–राम्दी–गैडाकोट खण्ड २९३ कि.मी. र जोमसोम–कोरला खण्ड २०२ कि.मी. गरी दुई भागमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको छ ।
यस करिडोरको समीक्षा अवधिसम्म बेनी जोमसोम खण्डको भौतिक प्रगति करिब ८४ प्रतिशत र वित्तीय प्रगति करिब ८१ प्रतिशत रहेको छ । यस खण्डले हाल १ हजार १ सय ७८ जनालाई रोजगारी दिएको छ ।
त्यसैगरी, मालढुङ्गा–गौंडाकोट खण्डमा करिब ६८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने वित्तीय प्रगति ६४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८३/८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको उक्त आयोजनाको अनुमानित कुल लागत रु.२७.९ अर्ब रहेको छ ।
हाल यस आयोजनामा हर्मिचौर–मालढुङ्गा तथा राम्दी–रानीमहल सडकखण्डमा कालोपत्रे लगायत नाली निर्माण, पुल निर्माण गर्ने कार्य भइरहेकोछ । यस आयोजनामा मुख्यरुपमा बजेट बिनियोजन तथा भुक्तानी, नदीजन्य सामग्री संकलनमा अवरोध, कालीगण्डकीको कटान तथा कमजोर धरातलका कारण अत्यधिक पहिरो, मुआब्जा सम्बन्धी समस्याले घर टहरा हटाउन नसक्नु आदि समस्या रहेका छन्। यस खण्डले हाल ९ सय ३१ जनालाई रोजगारी दिएको छ ।
मध्य पहाडी (पुष्पलाल) लोकमार्ग
यस आयोजना अन्र्तगत गण्डकी प्रदेशको गोरखा–लमजुङ खण्डमा पर्ने १०८ कि.मि. सडक खण्डको भौतिक प्रगति करिब ७८ प्रतिशत र वित्तीय प्रगति करिब ७२ प्रतिशत रहेको छ । हाल आयोजनामा स्ट्रक्चरल वर्क, ग्राभेल, बेस, ब्लाक टप वर्कस् एण्ड इन्जिनियरिङ वर्कस् जस्ता कार्य भइरहेको छ ।
लोकमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएतापनि रुख कटानी, जग्गा मुआब्जा, नदीजन्य निर्माण सामाग्रीको अभाव जस्ता समस्या रहेका छन् । हाल आयोजनाले ७०० जनालाई रोजगारी दिएको छ ।
सोही लोकमार्गको कास्की–पर्वत–बाग्लुङ खण्डमा पर्ने २५० कि.मि. सडक खण्डको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति करिब ५५ प्रतिशत रहेको छ । यस खण्डमा सडक स्तरोन्नति, पुल निर्माण लगायतका कार्य भईरहेको छ भने भैंसे–जौबारीपुल खण्ड (३९ कि.मी) र अर्मलाकोट– कालीखोला–लामाचौर–जौबारीपुल (१३ कि.मी.) मा रेखाङ्कन विवाद भई निर्माण कार्यमा समस्या रहेको छ । यस खण्डले हाल ६ सय जनालाई रोजगारी दिएको छ ।
बुढीगण्डकी जलविद्युत आयोजना
गोरखा जिल्लामा १२०० मेगावाट क्षमताको जलाशययुक्त यस जलविद्युत आयोजनाको शुरु आर्थिक वर्ष २०६९/७० बाट भएको भएतापनि हालसम्म करिब १६.५५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ भने करिव १०.८ प्रतिशत वित्तीय प्रगति भएको छ । निर्माण कार्य पूर्वतयारीका काम तथा मुआब्जा वितरणका कार्य समेत भइरहेको छ । यो आयोजनामा निर्माणका लागि आवश्यक पर्ने वित्तीय स्रोत व्यवस्थापन, मुआब्जा निर्धारण तथा वितरण, प्रभावितको पुनर्वास तथा पुनस्र्थापना जस्ता समस्या रहेका छन् । यस खण्डले हाल ६ हजार जनालाई रोजगारी दिएको छ ।
तनहुँ जलविद्युत आयोजना
तनहुँ जिल्लामा नेपाल विद्युत प्राधिकरणले कुल ५० करोड ५० लाख अमेरिकी डलर लागतमा निर्माण शुरु गरेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको २०८१ पुस मसान्तसम्मको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ५२ प्रतिशत रहेको छ ।
हाल आयोजनाको प्याकेज १ अन्र्तगत बाँध निर्माण, प्याकेज २ अन्र्तगत पावरहाउस निर्माण र प्याकेज ३ अन्र्तगत प्रशारण लाईन निर्माण कार्य भइरहेको छ भने आयोजनाले जग्गाको मुआब्जा, प्राकृतिक विपद्, रुखकटान जस्ता समस्या भोगिरहेको छ । यस आयोजनाले कुल १०७५ जनालाई रोजगारी प्रदान गरेको छ ।
Advertisment