Below Menu
Below Menu

रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु, एक अर्ब २० करोड लगानी 

रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु, एक अर्ब २० करोड लगानी 

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । 

ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षणका लागि यसै हप्तादेखि विद्युत् उत्पादन शुरू गरेको हो । विद्युत् गृहमा रहेको दुईमध्ये एक वटा युनिट (टर्वाइन जेनेरेटर) को परीक्षण सफल भएको र अर्को युनिटको शुक्रबार परीक्षण सकिने आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए । 

“नेपाल विद्युत् प्राधिकरण, परामर्शदाता, प्रवर्द्धक र ठेकेदारका प्राविधिकहरूको संयुक्त टोली परीक्षण कार्यमा खटिएको छ,” उनले भने, “परीक्षण सफल भएपछि व्यावसायिक विद्युत् उत्पादन सुरू गर्छौँ ।”

सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०र५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी, रेलेखर्कमा विद्युत्गृह निर्माण र बाँध देखि विद्युत्गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको छ । 

रेलेखर्कको विद्युत्गृह, स्विचयार्ड र दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रशारण लाइन निर्माण भएको छ । सुरूङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो । पाँच सय पाँच मिटर माथिबाट विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ । 

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७९ मा निर्माण शुरू भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्‍याउँदा कार्यतालिका प्रभावित भएको जनसम्पर्क अधिकृत पाण्डेले बताए । 

रु एक अर्ब २० करोडलागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँहुँदै बाँध र विद्युत्गृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको छ ।

Advertisment

थप समाचार