काठमाडौं : सन् १९५२ मा स्विजरल्यान्डको एउटा अनुसन्धान टोली काठमाडौँ, दोलखा हुँदै रोल्वालिङ उपत्यकाबाट पाँच हजार ७०० मिटर उचाइमा रहेको तासिलाप्चा पास पार गरेर सगरमाथातर्फ गएको थियो । त्यो टोलीमा दोलखाको गौरीशङ्कर गाउँपालिकास्थित बेदिङ गाउँका रिताछिरी शेर्पा पनि सामेल भएका थिए । बेदिङबाट सगरमाथा क्षेत्र जाने उनी पहिलो व्यक्ति थिए ।
बेदिङ गाउँ हिमाल आरोहीहरुको गाउँका रुपमा परिचित छ । यो गाउँका बासिन्दाहरु विगत लामो समयदेखि हिमाल आरोहण पेसामा आबद्ध छन् । रिताछिरी सन् १९५३ मा सर एडमन्ड हिलारी तथा तेन्जिङनोर्गे शेर्पाको टोलीमा पनि सगरमाथामा गएको जानकारी उनका छोरा दावाछिरी शेर्पाले दिए । त्यतिबेला उनका साथमा उनका ज्वाइँ पेम्बुतर शेर्पा पनि गएका थिए ।
हिलारी नेतृत्वको आरोहण टोलीमा संलग्नतापछि रिताछिरी शेर्पाले चीनको स्वशासित क्षेत्र तिब्बतबाट याक ल्याएर बेदिङ र ना गाउँमा पशुपालन गरेका थिए। केही वर्षअघि ८५ वर्षको उमेरमा उनको निधन भएको थियो । उनका छोरा दावाछिरीले पनि १२ पटक सगरमाथा आरोहण गरेका थिए ।
२०५८ सालमा दर्ता गरिएको एभरेष्ट समिटर्स क्लब, रोल्वालिङ, दोलखाका अध्यक्षसमेत रहेका दावाछिरीका अनुसार हालसम्म बेदिङ गाउँका सयौँले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । जसमा महिलाहरुको सङ्ख्या नगण्य छ । बेदिङका ६ जनाको हिमाल आरोहणका क्रममा निधन भएको थियो ।
उक्त गाउँका सगरमाथा आरोहीहरुमध्ये ५२ जना जीवित छन् । बेदिङकै सगरमाथा आरोही आङफूर्वा शेर्पा ८० वर्ष कटिसकेका छन् । उनी हाल काठमाडौँमा बस्छन् । अन्य धेरै आरोही कामका सिलसिलामा काठमाडौँमै बसे पनि बर्खायामका बेला गाउँमा भेटिन्छन् । केही आरोही भने अमेरिका पुगेका छन् ।
स्मरणीय आरोहीहरु
विसं २०५० वैशाख १० गते पहिलो नेपाली महिला आरोहीका रुपमा सगरमाथा आरोहण गर्न सफल स्व पासाङल्हामु शेर्पाको पर्वतारोहण टोलीको सरदारका रुपमा सोनामछिरिङ शेर्पा रहेका थिए। शिखरबाट फर्कंदा पासाङल्हामु तथा सोनामछिरिङ शेर्पा साथै थिए ।
अचानक मौसम बिग्रेर समयमा उद्धार गर्न नसकिएको केही दिनपछि पासाङल्हामुको शव फेला परेको थियो भने सोनामछिरिङलाई फेला पार्न सकिएन । उनको शव हालसम्म भेटिएको छैन ।
आरोही पेम्बादोर्जे शेर्पाका अनुसार सोनामछिरिङ पनि बेदिङ गाउँकै थिए । यो पङ्क्तिकारले २०४९ सालमा सोनामछिरिङलाई कम बोल्ने स्वभावका साथै अत्यन्त शालीन व्यक्तिका रुपमा भेटेको थियो ।
सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने बेदिङबासीमध्ये लोप्साङजाङ्बु शेर्पालाई अझै मानिसहरु सम्झने गर्दछन् । पङ्क्तिकारले उनलाई भेट्दा हिमालमा कसरी नयाँ कीर्तिमान कायम गर्न सकिन्छ भन्ने लक्ष्यबाहेक अन्य ध्याउन्न केही नभएको पाएको थिएँ । राष्ट्रिय पोसाक लगाएर सगरमाथा चढेका लोप्साङजाङ्बुको नयाँ कीर्तिमान कायम गर्ने सिलसिलामा हिमालमै निधन भएको थियो ।
दोलखा जिल्लास्थित गौरीशङ्कर गाउँपालिकाको हाल वडा नं ९ मा रहेको बेदिङ गौरीशङ्कर नामले पनि परिचित छ । रोल्वालिङ उपत्यकामा रहेको यो गाउँ समुद्री सतहदेखि तीन हजार ६९० मिटरदेखि चार हजार २०० मिटरसम्मको उचाइमा छ । रोल्वालिङ उपत्यका पर्वतारोहण गाइडको प्रशिक्षणलाई उपयुक्त स्थल मानिएको छ । विश्वकै चर्चित माउन्टेन गाइडहरु यसै स्थलका बासिन्दा भएको स्थानीय ९ नं वडाका अध्यक्ष ङिमागेली शेर्पा बताउँछन् ।
रोल्वालिङ उपत्यका जहाँबाट सगरमाथा तथा तिब्बत पनि जान सकिन्छ । यहीँको बेदिङ गाउँमा मानिसहरु हिउँदमा बस्ने गर्दछन् भने वर्षाको समयमा लेकमा रहेको ना गाउँमा सर्ने गर्दछन् । ना भनेको शेर्पा भाषामा तीर्थ भएको गाउँ पनि भनिन्छ । बेदिङमा गाउँबस्ती ठूलो छ ।
यहाँबाट विभिन्न मुलुकका साथै आन्तरिक पर्यटकहरु च्छो रोल्पा ताल, दूधकुण्ड तथा ना तीर्थ पनि जाने गरेका छन् । प्रथम सगरमाथा आरोही स्वर्गीय एडमन्ड हिलारीले यहाँ स्कुल बनाइदिएका थिए । बेदिङमा बिजुली पुगे पनि हालसम्म इन्टरनेटको सुविधा पुग्न सकेको छैन । बेदिङस्थित स्वास्थ्य चौकीमा हालै सरकारी नर्सको दरबन्दीको व्यवस्था गरिएको जानकारी आरोही फुर्वातेन्जिङ शेर्पाले दिए ।
कीर्तिमान नै कीर्तिमान
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो बनाउने ‘रोप फिक्सिङ’ टोलीमा बेदिङकै छिरिङपेम्बा शेर्पा पनि थिए। यसपालि सगरमाथामा सबैभन्दा पहिलो सफल आरोहण छिरिङपेम्बा शेर्पाले नै गरेका थिए।
सगरमाथाका पाका आरोही ङवाङयोन्देन शेर्पा पनि बेदिङवासी नै हुन् । प्रथम पटक हिउँदयाममा सगरमाथा आरोहणको कीर्तिमान उनको नाममा छ । त्यतिखेर उनी जापानी पर्वतारोही टोलीका साथ सगरमाथा गएका थिए। ७३ वर्ष पुगेका शेर्पा हाल काठमाडौँमा बस्छन् ।
बेदिङ निवासीहरुमध्ये हालसम्म सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्नेहरुमा पेमाछिरिङ शेर्पा छन् । उनले २३ पटक सगरमाथा चढिसकेका छन् । यसै गाउँकी आरोही दावायाङजुङ शेर्पा संसारका आठ हजार मिटरभन्दा अग्लो १४ वटा हिमाल चढ्न सफल पहिलो नेपाली महिला बनेकी छिन् । उनी पहिलो महिला एसियन माउन्टेन गाइड पनि हुन्।
बेदिङकै निमाग्याल्जेन शेर्पाले पनि आठ हजार मिटरभन्दा अग्लो १४ वटा हिमाल चढ्नु भएको थियो । बेदिङका आरोहीहरुमध्ये उहाँले सबैभन्दा पहिले ती १४ वटै हिमालको आरोहण गरेका थिए।
एउटै परिवारका सबैभन्दा धेरै सदस्यहरुले सगरमाथा आरोहण गर्न सफल भएको कीर्तिमानी पनि बेदिङसँग जोडिएको छ । बेदिङका स्व छिरिङनोर्बु शेर्पा र आमा किन्जुङ शेर्पाका आठजना सन्तानले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । एउटै आमाका छोराछोरीहरु पेम्बाग्याल्जेन, फुर्वाथुन्डु, पेम्बादोर्जे, दावाडिकी, निमा ग्याल्जेन, फुर्वातेन्जिङ, फुर्वाठिले र निमाल्हामु शेर्पाले सगरमाथा चढेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका थिए।
यसअघि सन् २०१८ मा सोही परिवारका चार दाजुभाइ, दिदीबहिनी पेम्बादोर्जे, फुर्वातेन्जिङ, दावाडिकी र फुर्वा ठिलेले एकै पटक सगरमाथा शिखरमा पुगेर पहिलोपटक दाजुभाइ तथा दिदीबहिनी एकसाथ सगरमाथाको शिखरमा पुगेको विश्व कीर्तिमान बनाउन सफल भएका थिए । सोही परिवारमा फुर्वातेन्जिङ शेर्पा यसपालिको वसन्त ऋतुमा १७औँ पटक सगरमाथाको आरोहण गरेका थिए।
बेदिङको वीरता
बेदिङ गाउँकै शेर्पाहरुमध्ये कीर्तिमान मिङ्गमा जी शेर्पाले राख्नुभएको विश्व कीर्तिमानको आफ्नै विशेषता रहेको छ । हिमालमा जति धेरै उचाइ माथि जाँदा अक्सिजन कम हुँदै जाने गर्दछ । यसैकारण आरोहीहरुले हिमाल जाँदा पूरक अक्सिजनको प्रयोग गर्ने गरेका छन् । तर मिङ्गमा जी फरक व्यक्तिका रुपमा प्रमाणित भए ।
उनले संसारका आठ हजार मिटरभन्दा अग्ला सबै हिमालहरु पूरक अक्सिजनको प्रयोग बिना आरोहण गर्ने पहिलो नेपाली बन्ने सफलता प्राप्त गर े। उनले सातै महादेशका उच्च हिमालहरु चढेर पर्वतारोहणका क्षेत्रमा नयाँ आयाम थप्नु भयो जुन त्यति सहज छैन । यसैगरी, हिउँदमा हिमाल चढ्नु ज्यादै कठिन मानिन्छ । उनले हिउँदमा पहिलोपटक अन्य नेपाली आरोहीहरुसँगै संसारकै दोस्रो अग्लो हिमाल केटु चढेर आफूलाई विश्व कीर्तिमानी आरोहीको पङ्क्तिमा उभ्याए ।
मिङ्गमा जीले आफ्नो बाजेबराजुकै बाटो पछ्याउँदै आइरहेका छन् । हिमाल चढ्ने क्रममा आठवटा औँला हिउँले खाएर पेसाबाटै वञ्चित हुनु परेका बाबु दोर्जी शेर्पाको प्रोत्साहनबाट उनी हिमाल चढ्न प्रेरित भएका थिए । ६४ वर्षको उमेरमा निधन भएका बुबाले आफूलाई हिमाल चढ्, हिमालले तिमीलाई पाल्छ भनी बरोबर भन्ने गरेको छोरा मिङ्गमा जी स्मरण गर्छन् ।
हाल बेदिङमै रहेकी आमा रिन्जिन डोमा शेर्पाले भने छोरालाई हिमाल चढ्ने काम गर्दै नगर भनेर सचेत गराउँथिन् । सुरुमा खासै इच्छा नभएता पनि पर्वतारोहणलाई पछ्याएका बेदिङका शेर्पाहरुको गतिविधिबाट आकर्षित हँुदै एसएलसी परीक्षा उत्तीर्ण भएपछि मिङमा जी हिमालतर्फ गएका थिए ।
पर्वतारोहणतर्फ लागेका दोर्जीका छोरीहरु निमाजाङमु शेर्पा, छिरिङनाम्गेल शेर्पा तथा दावाफुटी शेर्पा पनि आरोहीका रुपमा स्थापित भएका छन् । । मिङ्गमा जीले पहिलोपटक सन् २००६ मा जापानी आरोहीहरुका साथ मनास्लु हिमाल आरोहण टोलीमा संलग्न हुने अवसर पाएका थिए।
छिटो छिटो आरोहण
आरोही मिङ्गमा जी शेर्पाले अन्य तीन चिनियाँ आरोहीहरुसँगै हालै दक्षिण अमेरिकास्थित अकोन्कागुवा हिमाल आरोहण गरेर आफ्नो सातै महादेशका उच्च हिमाल चढ्ने अभियान टुङ्ग्याएका थिए । उनले विश्वको सगरमाथा छ पटक आरोहण गरिसकेका छन् । उनले पछिल्लो पटक सन् २०२२ मा सगरमाथा आरोहण गरेका थिए ।
उनले सन् २०२४ को अवधिमा उत्तर अमेरिकाको माउण्ट डेनाली, अष्ट्रेलियामा पर्ने माउण्ट कास्टन पिरामिड, रसियामा रहेको माउण्ट एल्बरुस, अन्टार्टिकामा रहेको माउण्ट भिन्सन्, दक्षिण अफ्रिकाको तान्जानियामा रहेको माउण्ट किलिमान्जरो र अर्जेन्टिनामा रहेको माउण्ट अकोन्कागुवा हिमाल चढ्न भ्याएका थिए । गिनिज बुक अफ वल्र्ड रेकर्डसमा समेत नाम लेखाउन सफलता प्राप्त गरेका मिङ्गमा जीको कीर्तिमानले बेदिङ गाउँलाई मात्र नभई समस्त नेपालीलाई नै गौरवान्वित बनाएको धारणा पर्वतारोहीहरुले व्यक्त गरेका छन् ।
मिङ्गमा जीले सन् २०२२ मा मनास्लु हिमालको आरोहण गरी १४ वटा हिमाल आरोहण गर्ने क्रम सुरु गरेका थिए। उनले गत सन् २०२३ को मेदेखि अक्टोबरसम्ममा सगरमाथा, ल्होत्से, पाकिस्तानको नांगापर्वत, गेसरब्रुम १, गेसरब्रुम २, ब्रोडपिक र केटु, धवलागिरी तथा चोयू गरी नौवटा हिमालको सफल आरोहण गरेका थिए।
उनले सन् २०२४ मा अन्नपूर्ण, मकालु, कन्चनजङ्घा र चीनको तिब्बतमा पर्ने सिसापाङ्गमा चढेर १४ वटा हिमाल चढ्ने अभियान सम्पन्न गरेका थिए । उनले अर्जेन्टिनास्थित अकोन्कागुवा हिमाल चढेर सात महादेशका शिखर चढ्ने अभियान पनि टुङ्ग्याएका थिए। स्की गर्दै दक्षिणी ध्रुवमा पुगेका मिङ्गमा जीले कुशल स्की खेलाडीको परिचय पनि दिएका छन् । सन् २०२७ मा स्की गरेर उत्तरी ध्रुवमासमेत पुग्ने उनको लक्ष्य छ ।
अब्बल गाइड
मिङ्गमा जी शेर्पाले हिमालमा गाइड गर्दै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल तथा सातै महादेशका सात उच्च हिमाल चढ्न सफल भएका हुन् । उनले विश्वका कुनै पनि हिमालमा गाइड गर्न नेपाली माउण्टेन गाइड सक्षम भएको सन्देश दिन आफूले प्रयास गरेको बताए ।
हिमालमा गाइड गर्ने काम अत्यन्त जटिल र जोखिमपूर्ण मानिन्छ । आरोहीलाई हिमालको शिखरसम्म पथप्रदर्शन गर्दै लगेर सकुशल आधार शिविरसम्म फिर्ता ल्याउनु उसको जिम्मेवारीभित्र पर्दछ । हाल नेपालका हिमालहरुमा नेपाली माउण्टेन गाइडहरुको वर्चस्व छ । अहिले विभिन्न मुलुकका हिमालमा गाइड गर्ने काममा केही नेपाली संलग्न हुँदै आइरहेका छन् ।
हाल अमेरिका, युरोपका साथै अन्टार्टिकामा समेत नेपाली माउण्टेन गाइडले काम गरिरहेका छन् । भविष्यमा अन्य नेपालीले पनि विदेशी कम्पनीका लागि गाइड गर्न सक्ने सम्भावनाको ढोका खुलेको उनको धारणा गरेको छ ।
केटु हिमालमा सयौँ थुङ्गा...
मिङ्गगमा जीले सन् २०२१ को हिउँदयाममा केटु हिमालको सफल आरोहण गरेका थिए। पाकिस्तानमा पर्ने विश्वको दोस्रो अग्लो शिखर केटु चढ्न जाँदा साथमा दावातेन्जिङ शेर्पा र किलितेम्बा शेर्पा पनि थिए । आरोहणकै क्रममा कीर्तिमानी आरोही निर्मल पुर्जा र छाङदावा शेर्पा पनि भेटिए ।
बेग्लाबेग्लै समूहमा गएका उनीहरु हिमाल चढ्ने क्रममा भेटिएपछि शिखरभन्दा करिब १० मिटर तलदेखि एकै साथ नेपालको राष्ट्रिय गान गाउँदै उक्लिएका थिए। सन् २०२१ को जनवरी १६ तारिखका दिन केटुको शिखरमा .आरोहीहरुले ‘सयौँ थुङ्गा फूलका हामी...’ राष्ट्रिय गान गुञ्जाउँदै आरोहण गरेको त्यो क्षण अत्यन्त ऐतिहासिक थियो । हिउँदयाममा केटु हिमालको शिखरमा पहिलो आरोहीका रुपमा नेपालीहरु पुगेपछि विश्व कीर्तिमान मानिएको थियो । त्यो आरोहणलाई बिबिसी लगायत विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रसारण गरेका थिए ।
मनास्लुमा नयाँ रुट
सन् २०२१ मा आरोही मिङ्गमा जीले नेतृत्व गरेको आरोहण टोलीले मनास्लु हिमालमा नयाँ रुट पत्ता लगाएको समाचार विश्वव्यापी भएको थियो । रोल्वालिङ डाइभर्सन नामकरण गरिएको उक्त नयाँ रुटलाई विश्वभरका आरोहीहरुले स्वागत गरेका थिए । मिङ्गमा जीले अन्तरराष्ट्रिय आरोही समुदायमा नेपाली आरोहीहरु पनि प्राविधिक रुपमा दक्ष भएको प्रमाणित गर्न आफूले चाहेको बताएका छन् । उनको सबैभन्दा पहिलो आरोहण मनास्लु हिमाल नै थियो ।
पहिलो एकल आरोहण
आरोही मिङ्गमा जीले सन् २०१५ को अक्टोबर २८ तारिखका दिन पहिलोपटक एक्लैले छ हजार ६८६ मिटर अग्लो चोबुजी हिमाल आरोहण गरेका थिए। त्यो हिमाल आरोहणका लागि निक्कै जोखिमसमेत व्यहोर्नु परेको थियो । खराब मौसमका कारण तेस्रो दिनमा मात्र सफलता मिलेको थियो ।
सन् २०१७ को अक्टोबर २ तारिखका दिन नाङ्गा पर्वत चढ्दै मिङ्गमा जीले पहिलोपटक शरद ऋतुमा आरोहण गरेको श्रेय प्राप्त गरे। कैयौँ मुलुकका आरोहीहरुलाई कीर्तिमानी बनाउन सहयात्रीका रुपमा पनि मिङमा जीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । सामान्य रुपमा अरूको कम्पनीमा काम गर्न सुरु गरेका मिङ्गगमा जीले हाल आफ्नै कम्पनी स्थापना गरी कैयौँलाई रोजगार दिन सक्षम भएका छन् ।
उद्धारको अभाव
कीर्तिमानी आरोही मिङ्गमा जीले हिमाल आरोहणमा जाँदा धेरै पटक जोखिम व्यहोरेका छन् । उनले कति आरोहीहरु दुर्घटनामा परेको देखेका छन् । कतिपयको दुःखद निधनसमेत भएको देखेका छन् । सन् २००३ मा सगरमाथामा एकजना जापानी आरोही बितेको क्षणको उनी अझै स्मरण गर्छन्।
एकपटक अन्नपूर्ण हिमाल आरोहणका बेला समयमै उद्धार नगरिएको भए ज्यानै जान सक्ने अवस्था भोगेको उनी बताउँछन् । सन् २०११ मा हिमालसम्बन्धी आधारभूत तालिम लिएपछि मात्र हालसम्म भाग्यले बाँचेको मिङ्गगमा जीलाई अनुभव भएको थियो ।
हिमालमा जोखिमबाट निस्कन नसके मर्नुबाहेक विकल्प नभएकाले हिमाली क्षेत्रमा हेलिकप्टर सहितको उद्धार टोली सधैँ तयारी अवस्थामा राख्नु पर्ने मिङ्गमा जीको सरकारसँग सुझाव छ ।
युरोप, अमेरिकातिरका हिमालमा जोखिममा पर्दा बटन थिचेको भरमा उद्धारका लागि हेलिकप्टर आइपुग्ने गरेको तर नेपालमा पैसा तिरेपछि मात्र हेलिकप्टरबाट उद्धार हुन सक्ने अवस्थालाई पनि सम्बन्धित अधिकारीले गम्भीर रुपमा लिनुपर्ने देखिएको छ । विगतमा नेपालको हिमाली क्षेत्रमा झुटो उद्धारको मामिला पनि चर्चित भएको थियो ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुलसिंह गुरुङले हिमालमा जोखिमको परिमाण बढी भएकाले तत्काल उद्धारको व्यवस्था जरुरी भएको बताउँछन् ।
पलायनको समस्या
विश्वमा हिमाल आरोहणको क्षेत्रमा नेपालको आफ्नै विशिष्ट पहिचान भए तापनि नेपाली आरोहीहरुलाई हालसम्म स्वदेशभित्रै उचित सम्मान दिन सकिएको छैन । जतिसुकै ठूला कीर्तिमान राखेका आरोहीलाई पनि विदेश जानु पर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लाइन नव्यहोरी सुखै छैन ।
सरकारी अस्पतालमा समेत सामान्य छुट दिन सरकारले सकेको छैन । हिमाल चढ्नका लागि आरोहण टोलीले तिर्ने गरेको हजारौँ डलर आरोहीहरुको हितमा खर्च गरिएको छैन । नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले सरकारले उठाउने रोयल्टीको ५० प्रतिशत रकम आरोहीहरुका लागि खर्च गरिनुपर्ने धारणा व्यक्त गर्छन् ।
नेपालमा पर्यटन नीति लचिलो नभएकाले पनि पर्वतारोहण क्षेत्रका गतिविधि विस्तार हुन सकेका छैनन् । पर्वतारोहणलगायतका साहसिक पर्यटनसँग सम्बन्धित पेसामा संलग्न रहेकाहरुको विदेश पलायनको अवस्था बढ्दो छ । यसबाट बेदिङ गाउँसमेत अछुतो छैन । मुलुककै कैयौँ कीर्तिमानी आरोहीसमेत उज्ज्वल भविष्यको खोजीमा विभिन्न मुलुकमा गइरहेको अवस्थामा सरकारले उनीहरुलाई स्वदेशमै बस्न सक्ने वातावरण बनाउन यथोचित कदम चाल्नु जरुरी देखिएको छ ।
हिमालमा गतिविधिहरु निरन्तर बढाउन सरकारले प्राथमिकता दिनुपर्दछ । आरोहणमा लागेकाहरुलाई जीविकोपार्जनको वैकल्पिक व्यवस्था पनि आवश्यक छ । कीर्तिमानीहरुलाई समाजका अन्य सम्मानित नागरिक सरह जीवन निर्वाह भत्ताको बन्दोबस्त हुन सके उनीहरुको उचित कदर हुने थियो ।
हिमाल आरोहण टोलीमा आरोहीहरुलाई ‘लियाजो अफिसर’का रुपमा पठाउने हालको सीमित व्यवस्थालाई पुनः विचार गरी धेरै जना लाभान्वित हुनसक्ने योजना ल्याइनु जरुरी देखिएको छ । जसले विदेश पलायनको हालको अवस्था केही हदसम्म कम गर्ने देखिएको छ ।
हालकै अवस्था आगामी दिन पनि जारी रहने हो भने भोलिका दिनमा नेपालका हिमालमा आरोहणका लागि आउने पर्वतारोहीहरुलाई लागि गाइड तथा अन्य सहयोगी विदेशबाटै आउन सक्ने अवस्थालाई नकार्न सकिँदैन । रासस
Advertisment