पोखरा-२३, चापाकोटको मध्यम वर्गीय परिवारमा जन्मिएका टंकप्रसाद अधिकारी आज नेपालको अग्रणी Document Management System (DMS) सफ्टवेयर कम्पनी 'आकाश डिजिटल' का प्रमुख कार्यकारी अधिकृतका रूपमा परिचित छन्। गाउँकै सरकारी विद्यालयमा अध्ययन गरेका अधिकारी बाल्यकालदेखि नै मेहनती, प्रतिभाशाली र अनुशासित विद्यार्थी थिए। कक्षा ७ देखि नै आफ्ना सहपाठीहरूलाई ट्युसन पढाउँदै आएका उनले शिक्षाप्रतिको आफ्नो गहिरो समर्पणद्वारा शिक्षकहरूको समेत मुक्तकण्ठ प्रशंसा गर्दथे।
सहकारी व्यवस्थापनदेखि प्रविधिमा पाइला
अध्ययनमा सधैं अग्रसर अधिकारी एसएलसीमा प्रथम श्रेणीमा उतीर्ण भएपछि उनले उच्च शिक्षालाई निरन्तरता दिए। २०७० सालमा प्रारम्भिक सहकारी संस्थामा व्यवस्थापकको भूमिकाबाट उनको सहकारी क्षेत्रसँगको यात्रा सुरु भयो। सहकारी संस्थाहरू तीव्र रूपमा खुलिरहेका थिए, तर बजारमा अस्वस्थ प्रतिस्पर्धाको अनुभव उनले गरे। स्नातकोत्तर अध्ययनकै क्रममा अर्को सहकारीबाट आकर्षक प्रस्ताव आएपछि उनले व्यवस्थापन अनुभवलाई विस्तार गरे।
प्रविधिप्रतिको मोह र प्रारम्भिक प्रयोगहरू
सानैदेखि प्रविधिमा रुचि राख्ने अधिकारीले २०७३ सालमा डिजिटल पेमेन्टसँग सम्बन्धित कम्पनी दर्ता गरे। तर नेपाल राष्ट्र बैंकको कठोर नीतिका कारण अपेक्षित प्रगति हुन सकेन। पछि सो डोमेन र कम्पनी अर्को इच्छुक समूहलाई हस्तान्तरण गर्नुपर्यो। तर उनको प्रविधिप्रतिको मोह कहिल्यै रोकिएन।
रेमिट्यान्सदेखि सहकारी अटोमेसनसम्म
अधिकारीले पछि रेमिट्यान्स सेवाको एजेन्टका रूपमा अर्को कम्पनी सुरु गरे। यही क्रममा नेपालका सहकारीहरू संक्रमणकालीन चरणमा थिए । एकातिर परम्परागत कार्यशैली, अर्कातिर प्रविधिमा आधारित पारदर्शी सेवा अपेक्षा। यही दोहोरो खाडलमा उनले आकाश डिजिटलको आधारशिला राखे। त्यसबेला अधिक सहकारीहरू कागजमा आधारित प्रणालीमा सीमित थिए। कोर बैंकिङ प्रणालीहरू क्लाउडमा पुगिसकेका थिए । तर कागजी प्रक्रियालाई स्वचालित र डिजिटल बनाउन कुनै प्रयास देखिँदैन थियो। यही अभाव अधिकारीले गहिरो रूपमा महसुस गरे।
आकाश LMS बाट आकाश DMS को यात्रासम्म
दिनको समय जागिरमा व्यस्त रहँदै, रातमा सहकारी संस्थाहरूका कागजी प्रणाली, कार्यप्रवाह र प्रविधि आवश्यकता बुझ्ने गहिरो अनुसन्धानमा डुब्थे उनी। यही अथक प्रयासबाट जन्मिएको थियो ‘LMS, अन्ततः 'आकाश LMS' नामक सफ्टवेयरको विकास यात्रा सुरु गरे ।

यतिबेला, सहकारी प्रविधिको आवश्यकता विगत १२ वर्षदेखि नजिकबाट अवलोकन गरिरहेका, प्रविधिमा अनुभव सम्पन्न पोखरा-११ निवासी सुवास आचार्य र सहकारी पृष्ठभूमिमा दखल राख्दै प्रविधिको विकासमा गहिरो समझ तथा कार्यान्वयन क्षमता भएका कालिका-६, निवासी सुजन अधिकारीसँग सहकार्यको प्रस्ताव आयो । तीनै जनाले सहकार्य गर्दै आकाश LMS लाई आकाश DMS मा रूपान्तरण गर्ने र देशभर विस्तार गर्ने निर्णय गरे।

सहकारी प्रविधिमा १२ वर्षको अनुभव बोकेका सुवास आचार्य र व्यवस्थापनमा निपूर्ण, प्राविधिक दृष्टिले स्पष्ट दृष्टिकोण भएका अधिकारी स्वयंको मिलनले आकाश डिजिटलले थप आकार लियो । यस यात्रामा टंकप्रसाद अधिकारी सीईओको रूपमा, सुवास आचार्य बजार अनुसन्धानका रूपमा र सुजन अधिकारी अध्यक्षका रूपमा क्रियाशील रही कम्पनीलाई थप लगानी सहित अगाडी बढाउने निर्णय भयो ।
करिब छ महिनासम्म देशका उत्कृष्ट तथा अग्रणी सहकारी संस्थाहरूमा पुगेर त्यहाँको कार्यपद्धति, कागजी प्रक्रिया र आवश्यक प्रविधिको गहिरो अध्ययन भयो। अन्ततः ती तीनै जनाबीचको सहमतिको आधारमा, मैले आफ्नो दश वर्षको सहकारी व्यवस्थापन अनुभवलाई व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यले, पारिवारिक दबाव र साथीहरूका हौसलाबीच जागिरबाट अबकाश लिएर पूर्णरूपमा यस यात्रामा समर्पित हुने निर्णय भयो ।
सपना, संघर्ष र सफलता
हरेक सहकारी संस्थाको आन्तरिक प्रक्रिया फरक–फरक हुने भएकाले प्रणाली विकास आफैमा एक जटिल र चुनौतीपूर्ण यात्रा थियो।
‘विभिन्न सहकारीहरूको कार्यशैली हेर्दा कतैकतै यस्तो लाग्थ्यो के हामीले बनाउँदै गरेको समाधान साँच्चिकै उपयुक्त हुनेछ त? कहिलेकाँही आशंकाको बादल मडारिन्थ्यो, डर लाग्थ्यो’, अधिकारी सम्झन्छन्, ‘हामीले कैयौँ रात निद्राको नामनिशानबिनै बितायौं। निरन्तर श्रममा रमेका थियौं । त्यही बेलामा, पूर्वबाट उदाउँदो सूर्यले थकित आत्मामा मानौँ नयाँ प्रेरणाको झल्को छर्दै, अझ एक पाइलो अघि बढ भनी हौसाइरहेको जस्तो लाग्थ्यो। हरेक विषयमा हामीबीच गहिरो छलफल चल्थ्यो । घुमफिरका समयहरूमा पनि निश्चित समय छुट्याएर काममा लाग्थ्यौं। सुवास आचार्य र म केही रमाइला स्वभावका तर सुजन अधिकारी हामीलाई अनुशासनमा राख्दै, हौसला दिँदै, लगनशील रूपमा काममा लाग्न प्रेरित गर्नुहुन्थ्यो।’
अन्ततः तीनै जनाको समर्पण, प्रविधि टिमको निरन्तर साथ र प्रयोगकर्ताहरूबाट प्राप्त प्रतिक्रियाले ‘आकाश DMS’ लाई सफल र प्रभावकारी सफ्टवेयरको रूपमा स्थापित गरायो।
हाल आकाश डिजिटलमा २० भन्दा बढी दक्ष कर्मचारीहरू आवद्ध छन् भने, देशका विभिन्न प्रदेशहरूमा च्यानल पार्टनरहरू मार्फत कार्य हुँदै आएको छ।
कम्पनीले ISO 9001:2015 प्रमाणीकरण प्राप्त गरिसकेको छ र २०२४ को प्रतिष्ठित “ICT Award” अन्तर्गत Province Startup ICT Recognition-Gandaki Province को उपाधि समेत हासिल गर्न सफल भएको छ।

मार्च महिनामा जापानमा सम्पन्न ‘ग्लोबल फिनटेक’ कार्यक्रममा दस्तावेज डिजिटलाइजेसन तथा अटोमेसन सम्बन्धी विषयमा आयोजकले विशेश आमन्त्रण अधिकारीलाइ थियो। तर, सो समयमा भिसा ढिला प्राप्त भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन्।
तथापि, आगामी दिनमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको सशक्त प्रतिनिधित्व गरिने तथा दस्तावेज व्यवस्थापन र डिजिटल प्रविधिमा अनुसन्धानलाई अझ गहिराइमा लैजाने योजना कम्पनीले बनाएको छ ।
आजको दिनमा आकाश डिजिटलले ५०० भन्दा बढी सहकारी संस्थामा आफ्नो सेवा प्रभावकारी रूपमा कार्यान्वयन गरिसकेको छ। कम्पनीको ब्रान्ड मूल्य २० करोड रुपैयाँ नाघिसकेको छ र अब अन्तर्राष्ट्रिय बजारमा समेत सेवा विस्तार गर्ने ठोस योजना अघि सारिएको छ।
अधिकारी भन्छन्, ‘हामी केवल प्रविधि बनाउने कम्पनी होइनौं । हामी सहकारी र वित्तीय संस्थाहरूलाई कागजबाट क्लाउडसम्म पुर्याउने अभियानमा समर्पित परिवर्तनकर्ता हौं । सहकारी क्षेत्रको डिजिटल भविष्य निर्माण हाम्रो सपना मात्रै होइन, हाम्रो प्रतिबद्धता हो । त्यसका लागि हामी गहिरो अध्ययन, प्रयोगशीलता, र निरन्तर सुधारको यात्रामा निरन्तर अघि बढिरहेका छौं।’
(आठ वर्ष सफल यात्राको सन्दर्भमा, आकाश डिजिटलका प्रमुख कार्यकारी अधिकृत टंक प्रसाद अधिकारीसँग गरिएको कुराकानीमा आधारित)
Advertisment