Below Menu
Below Menu

जीवन बीमा कम्पनीहरुको व्यापार साढे २० अर्बले बढ्यो, एक खर्ब ५४ अर्ब बीमाशुल्क संकलन ! 

जीवन बीमा कम्पनीहरुको व्यापार साढे २० अर्बले बढ्यो, एक खर्ब ५४ अर्ब बीमाशुल्क संकलन ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कम्पनीहरुले साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । 

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्म कम्पनीहरुले एक खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड ३८ लाख ३६ हजार ३७५ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् । 

उक्त रकम गत आवको सोही अवधिको तुलनामा १५.२९ प्रतिशत अर्थात २० अर्ब ४३ करोड ३३ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले एक करोड ४० लाख १२ हजार ४५७ बीमालेख बिक्री गरी एक खर्ब ३३ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए ।  

गत बैशखको तुलनामा बैशाखमा कम्पनीहरुले १४ अर्ब ६९ करोड १६ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । गत जेठमा मात्र कम्पनीहरुले चार लाख ३६ हजार ९७५ बीमालेख जारी उक्त रकम बराबरको बीमाशुल्क कमाएका छन् । 

चार कम्पनीको व्यापार १५ अर्बमाथि 

जेठ मसान्तसम्म आइपुग्दा चार कम्पनीले १५ अर्बमाथिको व्यवसाय गरेका छन् । यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले २० लाख ८१ हजार २२ बीमालेख बिक्री गरी ४१ अर्ब दुई करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १५ लाख २ज्ञ हजार ५२९ बीमालेख जारी गरी १८ अर्ब ९० करोड ४६ लाख ७४ हजार रुपैयाँको व्यापार गरेको छ । 

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ८३ हजार ९५६ बीमालेख जारी गरी १७ अर्ब २४ करोड १६ लाख सात हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।

अन्य कम्पनीको व्यापार 

प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ६१ हजार ६५७ बीमालेख जारी गरी नौं अर्ब ६४ लाख रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले पाँच अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यस्तै एशियन लाइफले सात अर्ब ८६ करोड १२ लाख बराबरको व्यवसाय गर्दा आईएमई लाइफले चार अर्ब ७२ करोड १९ लाख रुपैयाँ र सन नेपाल लाइफले तीन अर्ब ७३ करोड ८९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।  

चालु आवको ११ महिनासम्म आइपुग्दा रिलायबल नेपाल लाइफले चार अर्ब ५५ करोड ७६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले छ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

त्यस्तै सूर्यज्योति लाइफले नौं अर्ब ४५ करोडको ८१ लाख, सानिमा रिलायन्स लाइफले पाँच अर्ब ९० करोड २९ लाख र प्रभु महालक्ष्मी लाइफले चार अर्ब ५४ करोड ६६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

लघुबीमाको व्यापार एक अर्बमाथि  

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । जेठ मसान्तसम्म कम्पनीहरुले १६ लाख ६२ हजार ३२६ बीमालेख जारी गरी एक अर्ब ९ करोड ८२ लाख ५४ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले ४१ करोड ३६ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ३९ करोड ९४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २८ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार