Below Menu
Below Menu

अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकका उपलब्धि र चुनौतीबारे छलफल

अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकका उपलब्धि र चुनौतीबारे छलफल

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल जुन २७ देखि २९ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित Bank for International Settlements (BIS) को ९५ औँ वार्षिक बैठकमा सहभागी भएर स्वदेश फर्किएका छन् । सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य रहेका छन् ।

विश्वभर मौद्रिक र वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यले स्थापित उक्त संस्थाले केन्द्रीय बैंकहरूबीचको सहकार्य र वित्तीय प्रणालीको विकास एवम् वित्तीय स्थायित्व कायम राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । उक्त बैठकमा बीआईएस सदस्य राष्ट्र एवम् विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्नरहरू एवम् उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

बैठकका क्रममा गभर्नर डा. पौडेल “CPMI Emerging Markets and Developing Economics-Bridging Gaps:Financial Inclusion, Regional Integration and Cross-Border Payments” तथा “BIS Innovation Hub Seminar: AI and Safety”  विषयक अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी भए ।

उक्त कार्यक्रममा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका उपलब्धि र सामना गर्नुपरेको चुनौती तथा केन्द्रीय बैंकमा कृत्रिम बौद्धिकताको प्रयोग र यसले बैंकिङ प्रणालीमा ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न केन्द्रीय बैंकहरूले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल भएको थियो ।

साथै, गभर्नर डा. पौडेलले “Regulation and Competitiveness” विषयक अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाए । उक्त वार्षिक बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यस्तै प्राध्यापक Maurice Obstfeld​ ले “The International Monetary System: A Fork in the Road” विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

वार्षिक बैठकका क्रममा गभर्नर डा.पौडेलले बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्ससँग भेटघाट  गरेका थिए । साथै, बीआईएस, बैंकिङ  विभागका प्रमुख लुइस बेब्गोचाको नेतृत्वमा उक्त विभागका उच्च अधिकारीहरू लगायतका प्रतिनिधिहरूसँग समेत बैठक गरेका थिए ।

सो बैठकमा विदेशी विनिमय सञ्चिति लगानी विविधीकरणका लागि सुन खरिद तथा विश्वबजारमा उपलब्ध नयाँ नयाँ उपकरणहरूमा लगानी गरी विदेशी विनिमय सञ्चिति व्यवस्थापनबाट प्राप्त हुने प्रतिफल बढाउन नेपाल राष्ट्र बैंकसँग हुन सक्ने सहकार्य लगायतका विषयहरूमा छलफल भएको थियो ।

साथै, विदेशी विनिमय सञ्चितिलाई सुरक्षित, लाभदायक र प्रभावकारी व्यवस्थापन गर्न थप लगानीको अवसरका लागि आवश्यक सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।

उक्त वार्षिक बैठकको क्रममा गभर्नर डा. पौडेल र भारतीय रिजर्व बैंकका गभर्नर सञ्जय मल्होत्राबीच भेटघाट भएको थियो । उक्त भेटमा दुई केन्द्रीय बैंकबीचको आपसी सम्बन्ध थप विस्तार गर्ने र आगामी दिनमा समेत दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने, भुक्तानी प्रणालीलाई सहज बनाउने र जनशक्तिको क्षमता विकास गर्ने लगायतका पक्षहरूमा निरन्तर समन्वय रहने विषयमा छलफल भएको थियो ।

यसैगरी, बैठकको क्रममा गभर्नर डा. पौडेल र People'sBank of China (PBC) का गभर्नर Mr. Pan Gongshen बीच भेटघाट भएको थियो । PBC का गभर्नरसँगको भेटमा दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहयोग, बैंकिङ कारोबार एवम्भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउनका लागि निरन्तर सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

गभर्नर डा. पौडेलका साथ बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालयका निर्देशक एवम् सञ्चालक समितिका सचिव शरण कुमार अधिकारीको समेत सहभागिता रहेको थियो ।

Advertisment

थप समाचार