Below Menu
Below Menu

छ महिनामा भित्रिए साढे पाँच लाखभन्दा विदेशी पर्यटक, भारतबाट आए सर्वाधिक

छ महिनामा भित्रिए साढे पाँच लाखभन्दा विदेशी पर्यटक, भारतबाट आए सर्वाधिक

काठमाडौं : सन् २०२५ को पहिलो ६ महिनामा साढे ५ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । ती मध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्षको सोहि अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

बोर्डले जारी गरेको तथ्यांक अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै एक लाख ४७ हजार ८३९ पर्यटक भारतीय छन् । हरेक वर्ष नेपाल भ्रमण गर्न आउने पर्यटक मध्ये भारतीय पर्यटक नै बढी हुने गर्दछन् ।

६ महिनामा ५८ हजार ३२६ अमेरीकी पर्यटकले नेपालको भ्रमण गरेका छन् । ५२ हजार ५१४ चीनियाँ, २८ हजार ९५६ बंगलादेशी र २७ हजार ६८ बेलायती पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

त्यसैगरी, अस्ट्रेलियाबाट २२ हजार ९५, थाइल्यान्डबाट १७ हजार ६३४, श्रीलंकाबाट १५ हजार ४३२, जर्मनीबाट १४ हजार ४५५ र दक्षिण कोरियाबाट १२ हजार ७२६ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ ।

जुन महिनामा मात्रै ७६ हजार ४ सय पर्यटक नेपाल भित्रिए

बोर्डका अनुसार यस वर्षको जुन महिनामा मात्रै ७६ हजार ४२५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये पनि सबैभन्दा धेरै भारतबाट नै आएका छन् । बोर्डका अनुसार यस बिचमा भारतबाट मात्रै ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । 

अमेरिकाबाट ९ हजार ६९६, चीनबाट ६ हजार ७३६, बङ्गलादेशबाट ५ हजार ४४९ र बेलायतबाट २ हजार २८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस अवधिमा अष्ट्रेलिया, मलेसिया, भुटान, जापान र दक्षिण कोरियाबाट पनि पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

सन् २०२४ को जुन महिनामा ७६ हजार ३३३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२३ को जुन महिनामा ७२ हजार २५० पर्यटकले नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो ६ महिनामा ५ लाख ८३ हजार १६ जना पर्यटक भित्रिएका थिए ।

कोरोना महामारीको सुरु हुनुभन्दा अघि सन् २०१९ को जनवरीदेखि जुनसम्म ५ लाख ७३ हजार ६५८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटक आगमन सुधारन्मुख भएको बताएका छन् । 

उनले भने, ‘अझै हामी नेपालमा पर्यटक बढाउन मुख्य पर्यटक बजार भएका मुलुकमा डिजिटल मार्केटिङ र हाम्रा पर्यटन उत्पादनको ब्रान्डिङ गर्ने कामलाई थप तीव्रता दिन्छौं । यसले नेपालमा पर्यटक बढोत्तरी हुने हाम्रो विश्‍वास छ ।’

सीईओ जोशीले विश्वकै पहिलो र दोस्रो ठूलो जनसंख्या भएका हाम्रा छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न बोर्ड रणनीतिक ढंगले अघि बढ्ने बताए ।
 

Advertisment

थप समाचार