Below Menu
Below Menu

निजी क्षेत्रमा प्रवाहित कर्जा ४०७ अर्बले बढ्यो, शेयर धितो कर्जामा ४२ प्रतिशतको वृद्धि 

निजी क्षेत्रमा प्रवाहित कर्जा ४०७ अर्बले बढ्यो, शेयर धितो कर्जामा ४२ प्रतिशतको वृद्धि 

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ (८.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको थियो । 

वार्षिक विन्दुगत आधारमा जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ । यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत रहेको थियो । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.४ प्रतिशत, विकास बैंकहरूको ४.७ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.९ प्रतिशतले बढेको छ । 

जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.० प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १२.० प्रतिशत र ६८.५ प्रतिशत रहेको थियो।

चालु आवको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १२.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ४२.८ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ६२.२ प्रतिशतले, हायर पर्चेज कर्जा ५.५ प्रतिशत, नगद प्रवाह कर्जा ०.६ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.० प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १३.२ प्रतिशतले घटेको छ ।
 

Advertisment