काठमाडौं : सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न बागमती प्रदेश सरकारले उर्दी जारी गरेको छ ।
आज (बुधबार) बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सहकारी संस्थाबाट ऋण लिई समयमानै नतिर्ने, नतिर्ने मनसाय राखी पटक पटक किस्ता पछाडि सार्ने, सहकारी संस्थासँग समन्वय नगरी सम्पर्क विहीन हुने र कानूनी प्रक्रिया शुरु गरेपछि मात्र सम्पर्कमा आउने जस्ता समस्या देखिएकोले सहकारी सस्थाको पूँजी सुरक्षामा गम्भीर असर पारेको पाइएको जनाएको छ ।
ऋणी सदस्यहरुले आफूले लिएको ऋण चुक्ता नगर्ने परिपाटीले सहकारी संस्थामा सदस्यहरुको बचत फिर्ता गर्न असहज भएको, सहकारी संस्थामा सदस्यहरुवाट लिएको बचत रकमबाट नै ऋण प्रवाह गरिने भएकोले ऋणी सदस्यले आफूले लिएको ऋण समयमा चुक्ता नगर्दा सहकारी संस्था र बचतकर्तालाई समेत गम्भिर समस्या पर्न गएको समेत जनाएको छ।
सूचनालाई गम्भीरतापूर्वक लिई सबै सहकारीका ऋणीहरुले आफूले तिर्नुपर्ने ऋण अविलम्ब सम्बन्धित सहकारीको सम्पर्कमा रहि ऋण चुक्ता गर्नुहुन मन्त्रालयले अनुरोध गरेको छ । साथै सहकारी सञ्चालकहरुले समेत वित्तीय अनुशासन र सहकारी ऐन, नियमको पूर्ण रुपमा परिपालना गर्नु गराउनु हुन अन्यथा बागमती प्रदेश सहकारी ऐन, २०७६ बमोजिम कारवाही हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
कतिपय सहकारी संस्थामा पूर्व सञ्चालक, सञ्चालक, व्यवस्थापक तथा परिवारका सदस्यका नाममा ऋण लिइएको तर नतिरेको अवस्था समेत देखिन आएको समेत मन्त्रालयले जनाएको छ ।

Advertisment