काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत सोमबार बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।
सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ७१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असार २२ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा ७१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा एक अर्ब रुपैयाँ थपिएर ७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ६४ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप बढेर ६४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा १७ अर्ब निक्षेप थपिँदा चार अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५५ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर बढेको छ भने सिडि रेसियो घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ७६.६९ बिन्दुमा झरेको छ ।
Advertisment