आजदेखि बुङ्गल हाइड्रोको सेयरमा आवेदन खुला

आजदेखि बुङ्गल हाइड्रोको सेयरमा आवेदन खुला

काठमाडौं : बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ।

Sponsored Advertisement

कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । यसमध्ये स्थानिय बासिन्दाका लागि ८ लाख ३० हजार ८२४ कित्ता सेयर छुट्याइएको हो, जुन प्रतिकित्ता १०० रुपैयाँ दरमा प्रदान गरिनेछ।

स्थानिय बासिन्दाका लागि छुट्याइएको सेयरमा ६५ प्रतिशत हिस्सा बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ६ र ७ अन्तर्गत पर्ने साविक पिपलकोट र कफल्सेरी गाविसका अति प्रभावित क्षेत्रका बासिन्दालाई प्रदान गरिनेछ। बाँकी ३५ प्रतिशत सेयर भने बुङ्गल नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ का सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ, जसको कुल मूल्य २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ। यसमा आवेदन दिन चाहने श्रमिकहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएको प्रमाण पेश गर्नुपर्नेछ।

आवेदनको न्यूनतम सीमा १० कित्ता रहेको छ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानिय बासिन्दाहरूका लागि आवेदन अवधि अनिवार्य रूपमा साउन ११ गतेसम्म खुला हुनेछ। यदि तोकिएको समयभित्र पर्याप्त आवेदन प्राप्त नभएमा यो अवधि साउन २६ गतेसम्म बढ्न सक्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने साउन ११ गते नै अन्तिम म्याद कायम गरिएको छ।

थप समाचार